शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

इलाम अन्तिम चारमा

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार १६:२४ मा प्रकाशित

बेलबारी : रेड हर्र्स क्लब इलाम दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग खेल मैदानमा मंगलबार भएको खेलमा यू-१८ राष्ट्रिय टोलीलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै इलामले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेल सुरु भएपछि परेको वर्षाका कारण हिलाम्य मैदानमा कष्टपूर्ण खेल खेलेका दुवै टोलीले निर्धारित समयमा नतिजा निकाल्न नसक्दा खेल सडन डेथसम्म धकेलियो ।

दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेलको छिनोफानो गर्न सडन डेथसम्म पुग्नु परेको थियो । इलामको जितमा गोलरक्षक मनोज प्रधान नायक बने । सडक डेथमा विपक्षी खेलाडीको प्रहारलाई उत्कृष्ट ढंगबाट बचाउँदै खेलको म्यान अफ दी म्याच घोषित प्रधानले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

टाइब्रेकरमा इलामका प्रदीप विष्ट, पिकेश लिम्बू, हिसव खतिवडा र रोमन भुजेलको प्रहारले जाली चुमेको थियो । दर्शन गुरुङले गरेको पहिलो प्रहारलाई नै यू-१८ का गोलरक्षक विष्णुकुमार केसीले रोकिदिँदा इलाम दबाबमा परेको थियो । यू-१८ का दिनेश हेन्जन, मनिष थापा, रन्दिप पौडेल र नविन गुरुङको प्रहार मात्रै गोलमा परिणत भयो । विकास खवासको प्रहारलाई इलामका गोलरक्षक प्रधानले उत्कृष्ट बचाउ गरेका थिए ।

सडन डेथमा इलामका हिपमेन लिम्बूको प्रहार गोलमा परिणत भयो । जय गुरुङ गोल गर्न चुक्नु नै यू-१८ को हारको मुख्य कारण बन्यो । उनको प्रहारलाई गोलरक्षक प्रधानले बचाए ।

खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा लिए पनि फिनिसिङ फितलो हुँदा यू-१८ नतिजा विपक्षीलाई सुम्पन बाध्यो । २३ औं मिनेटमा बुद्ध बल तामाङको प्रहार आकासिँदा गोल गर्ने अवसरबाट यू-१८ चुक्यो । ४० औं मिनेटमा नितिन थापा वान भर्सेस वानमा चुक्नु पनि उसका लागि दुर्भाग्यपूर्ण बन्यो । ४३ औं मिनेटमा बुद्धकै प्रहार रिवान्ड भएर फर्किएपछि मनिष थापाले प्रहार गर्दा पनि बल आकासियो । ५८ औं मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार बायाँ बार हुँदै बाहिरिनु यू-१८ को हारको अर्को कारण बन्न पुग्यो।

पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको इलामले मध्यान्तरपछि भने पोस्ट एट्याकको अवसर समेत पाउन सकेन । २०औं मिनेटमा हिसाव थपलियाको प्रहार क्रस बारमाथिबाट बाहिरिँदा इलाम अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा मिलन धिमालको प्रहार क्रस बारमा लागेर फर्कियो ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब र मोरङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईंको प्रतिकृयाहरू