बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

मिथिलामा चौरचन पर्व मनाइँदै

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार १६:२९ मा प्रकाशित

२७ भदौ, बर्दिवास । महोत्तरीसहितका मिथिला क्षेत्रको विभिन्न स्थानमा चौरचन (चौठी चन) पर्व मनाइदैछ । भदौ शुक्लपक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ ।

मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको छ ।

तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन आज एकैदिन परेको हो । चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्ऽमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।

हरितालिका तीज तथा चौठचनको जनकपुरधाममा सार्वजनिक बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले क्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै महिलाको तीज तथा मिथिलाको महत्वपूर्ण पर्वमध्ये चौठचनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

तपाईंको प्रतिकृयाहरू