शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

  पटक पढिएको

२०७५, २६ भाद्र मंगलवार ११:४३ मा प्रकाशित

२६ भदौ, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् ।

यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी छन् ।

अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय पिप्राका इन्सपेक्टर चन्द्र केसीले जानकारी दिए । उनले भने, ‘उनको फोटो र हुलियासहित सबैतिर परिपत्र गरेका छौं । खोजतलास तीव्र बनाएका छौं ।’

प्रत्यक्षदर्शीका अनुसार सो दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएकी थिइन् । सीता पनि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारलेसमेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् ।

इन्सपेक्टर केसीले भने, ‘बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्तरुपमा निवेदन दिनु भएको छ । सुनिताले छोरी बसन्ताको फोटो पनि दिनु भएको छ तर, शिवले भने फोटो दिनु भएको छैन, टेलिफोन नम्बर मात्र छाड्नुभएको छ ।’

प्रहरीले अनुसन्धानको लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ‘अदालतबाट अनुमति पाउनासाथ टेलिकमबाट कल डिटेल झिकाएर थप अनुसन्धान अगाडि बढ्छ,’ इन्सपेक्टर केसीले भने ।

तपाईंको प्रतिकृयाहरू