शनिबार, ०८ बैशाख २०८१   |   April 20 Sat, 2024

चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

  पटक पढिएको

२०७५, २६ आश्विन शुक्रबार ११:१५ मा प्रकाशित

मुस्ताङ, २६ असोज (रासस) : उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो ।

छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पहल गरिएको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताउनुभयो । जोमसोम हुँदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुविधा नभएकाले पर्यटक मारमा पर्ने गरेका छन् ।

 

पछिल्लो समय उपल्लो मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पृथक भूगोल, तिब्बती कला र संस्कृति, ऐतिहासिक दरबार, गुफा र हिमाली जीवनशैली उपल्लो मुस्ताङका आकर्षण हुन् । चराङमा विमानस्थल निर्माण गर्न सकेमा उपल्लो मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । प्राधिकरणका इञ्जिनीयर न्यौपानेले चराङको भूगोल विमानस्थलका लागि उपयुक्त भएको बताउनुभयो । विमानस्थलका लागि आवश्यक पर्ने सार्वजनिक जग्गा पर्याप्त रहेको उहाँको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू