बिहिबार, १५ चैत २०८०   |   March 28 Thu, 2024

मारवाडी युवा पुस्ता: परम्परागत व्यापारलाई बाइबाइ, आफ्नै बलबुतामा संयुक्त लगानीमा उद्यम गर्दै

  पटक पढिएको

२०७६, १९ जेष्ठ आईतवार १२:१९ मा प्रकाशित

काठमाडौं। परम्परागत पारिवारिक व्यवसायको दायराबाट अलग रहेर मारवाडी युवा संयुक्त लगानीको उद्यम गर्न थालेका छन्।

बाबुबाजेले परम्परागतरुपमा पारिवारिक दायराभित्र रहेर संचालन गर्दै आएको उद्योग व्यापार भन्दा बाहिर आफ्नै बलबुत्तामा उद्यम गर्ने हुटहुटीले सामूहिक लगानीको लागी मारवाडी यूवालाई प्रेरित गरेको हो। तीब्र प्रतिस्पर्धामा टिक्न र समयको रफ्तारसँगै उपयुक्त उद्योग व्यवसाय थाल्न ‘लाइक माइण्डेड’ यूवा संयुक्त लगानीको उद्यम र सहकार्य गर्नुपर्ने बाध्यतामा पनि छन्।

 

सीमित पूँजीले उद्योग व्यवसाय गर्न सहज छैन,आधा दर्जन् उद्योग व्यवसायमा स्थानीय युवासँगै संयुक्त लगानी गरेका संदीप तुल्स्यान भन्छन्, ‘ठूलो काम गर्न ठूलै पूँजी र विज्ञता आवश्यक हुन्छ, त्यसको लागी संयुक्त लगानी बाहेकको विकल्प छैन।‘संदीप तुल्स्यान,प्रेम जाटिया, विनित लोहियालगायत यूवाको संलग्नतामा म्याग्नस फर्मास्युटिकल्स औषधी उद्योग एक दशकदेखि सफतालपूर्वक संचालनमा रहेको छ। यही समूहले थप उत्साही यूवालाई समेटेर रियल स्टिल, नेचुरा फुड्स एण्ड बेभरेज प्रालि, ज्ञानदा एकेडेमीलगायतको उद्योग व्यवसायमा लगानी गरेका छन्।

 

नेचुरा फुड्स प्रालिमा साझेदार ३० वर्षिय विष्णु सिकारिया समूहमा काम गर्दा सबैको आआफ्नो क्षमता अनुसारको जिम्मेवारी बाँडफाँड गर्दा उद्योगको महत्वपूर्ण काममा निगरानी र नियन्त्रण संभव हुने बताउँछन्।‘सबैको इनपुट हुन्छ, लगानी पनि ठूलो गर्न सकिन्छ’, उनले थपे, ‘बुवाको पालामा सानो लगानीमै संभव थियो, तर अब छैन।‘

 

नेपाल कापी उद्योगका संचालक मोहनलाल सिन्थोलियाका छोरा रोहित अग्रवालसहित पाँचजना यूवाको समूहले करिब एक अर्ब रुपैयाँ लगानीमा कागज उद्योग संचालनमा ल्याएका छन्। यो उद्योगमा रोहितसँगै जगदम्बा इन्टरप्राइजेजका संचालक रमेश अग्रवालको छोरा प्रतीक अग्रवाल, केडिया समूहका मयन्क केडिया,जगदम्बा स्टिल्सका संचालक केतन गुप्ताकी छोरी सुलोचना अग्रवालसहित पाँचजना छन्।

 

कुनै समय वीरगंजमा प्रिन्टिङ्गको पर्याय भनेर चिनिएको शंकर प्रेस परिवारका ३९ वर्षिय अमित अग्रवाल, अमित झुनझुनवाला र मनिष अग्रवालले संयुक्त लगानीमा प्याकेजिङ म्याटेरियल उद्योग संचालनमा ल्याउँदैछन्।‘पारिवारिक व्यापार छोडेर एक्लैले नयाँ काम गर्न ह्याण्ड्स हुँदैन,’अमित भन्छन्,’संयुक्तरुपमा गर्दा जिम्मेवारी र जोखिम दुबै बाँडफाँड गर्न पाइन्छ,सबैको प्रयासले छिटो प्रगती गर्न संभव हुन्छ।‘

 

जगदम्बा इन्टरप्राइजेजका अनिल रुंगटाले मारवाडी समुदायकै अन्य लगानीकर्तासँग मिलेर लर्डस प्लाजा शुरु गरेका छन्।  सत्यनारायण क्याल, अशोक वैद्य, अनिल पटवारी र राजेश अग्रवालको २१ देखि ३० वर्षका छोराछोरीको पहलमा करिब ८५ करोड रुपैयाँ लगानीमा आदर्शनगरमै ‘स्काइलाइन मल’ निर्माण हुँदैछ। करिब ५० लाख रुपैयाँको लगानीमा अमन मित्तल र शौरभ पोद्दारले द डगाउट रेष्टुरेन्ट संचालन गरिरहेका छन्।

 

अस्तित्वको लागी संघर्षको बाटो
अस्तित्व र पहिचानको लागी यूवा पुस्ता अलग हटेर काम गर्न थालेको मारवाडी यूवा मञ्चका पूर्व अध्यक्ष गणेश लाठको बुझाई छ।

‘बाउबाजेको व्यवसायमा आफू कामदारको हैसियतमा मात्र रहन्छन्’,लाठले भने,’आफ्नै गर्ने हो भने मालिक पनि भइयो,केही इनोभेटिभ पनि गर्न पाइयो।‘ तीन दशक अघि उनले आफ्नो स्कूले साथीसँग साझेदारीमा कन्फेक्शनरी उद्योग संचालनमा ल्याएका थिए।पारिवारिक व्यापारको सीमित आयू, बदलिंदो व्यवसायिक परिवेशको माग, सीमित मुनाफाका कारण पनि यूवा पुस्तामा पारिवारिक व्यवसायबाट सन्तुष्ट हुन नसकेका हुन्।

 

‘हामीमा देश/दुनियाँको जानकारी भएन,आँट पनि भएन,बाजेको व्यापारमा कामदारकै हैसियतमा सीमित रह्यौं,’ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया भन्छन्,’विदेशबाट उच्च शिक्षा लिएर फर्किएका यूवामा आइडिया, जोश र आँट छ। र, बैंकबाट सहज ऋण सुविधा उपलब्ध छ,उनीहरुले गरिरहेका छन्।‘

संयुक्त उद्यमको पायनियर

तीन दशक अघि पप्स फुड प्रोडक्समार्फत् एफएमसिजीको उद्योगमा गणेश लाठ र अशोक टेमानीसहितका यूवाले पारिवारिक व्यापारभन्दा बाहिरको संयुक्त लगानीमा  संलग्न भएका थिए।

उनीहरुको समझदारी र मित्रता कायमै रहेपनि अहिले उद्योग भने बन्द छ। लाठले विनय साह र रमेश गाडिया मिलेर नोबल टेक्स्टाइल संचालन गरिरहेका छन्। ‘संयुक्त लगानीको उद्यम सफलताको सम्भावना धेरै हुन्छ’,लाठ भन्छन्,’असफल भइहाले पनि त्यसले दिने शिक्षा भविष्यमा गरिने उद्यमको लागी ज्यादै महत्वपूर्ण हुनेछ।‘

 

मारवाडी समुदायले मारवाडीसँग मात्र नभएर अन्य समुदायसँग समेत मिलेर संयुक्तलगानीमा उद्योग संचालन गरेका उदाहरण छन् । निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले डा. दिनेश गौतमसँग साझेदारीमा निम्बस समूह अन्तर्गतको विभिन्न उद्योग संचालन गरिरहेका छन् भने मारवाडी व्यापारीसँगकै साझेदारीमा डा. दिनेशका दाजु हरि गौतमले चप्पल र प्याकिङ म्याटेरियल उद्योग संचालन गरिरहेका छन्। चार्टर्ड अकाउण्टेण्ट जगदीश रुंगटा र थारु समुदायलाई प्रतिनिधित्व गर्ने राधेश्याम चौधरीबीचको साझेदारी पनि नेशनल हेल्थकेयर फर्मास्युटिकल्समा खुब जमेको छ।

बुहारी पनि अग्रसर

मारवाडी समुदायको छोरा मात्र नभएर छोरी–बुहारी पनि संयुक्त उद्यममा रुची देखाउन थालेका छन्। चाचान समूहको सज्जन चाचानका बुहारी मृदुला, अशोक मित्तलकी बुहारी पायल, शंकर समूहको राजेश अग्रवालको छोरी आकृति समेत संयुक्त व्यापारमा संलग्न छन्।

उनीहरुले आदर्शनगरमा अन्तर्राष्ट्रिय चेन स्टोर जिमिसो भोगको फ्रेन्चाइज लिएर स्टोर संचालन गरिरहेका छन्।

यूवा उद्यमी मैत्री छैनन् वातावरण
विदेशमा उच्च शिक्षा हासिल पुरा गरेका यूवालाई स्वदेश फर्काउनै अभिभावकको लागी ठूलो चुनौती छ। फर्किहाले पनि टिकाउन झनै कठिन। ठूला शहरमा पढेर फर्किएका उनीहरुको लागी शहरी लाईफ स्टाइलको लागी अनुकुल वातावरण र पूर्वाधार खास्सै छैन। बाबुबाजेले गरिरहेका व्यापार न त परम्परागत नै छ,न त समयको रफ्तार अनुरुप आधुनिक नै हुन सकेको छ।

 

‘विदेशमा अध्ययनको क्रममा सिद्धान्त र व्यवहारमा सिकेका कुरा यहाँ लागू गर्न ज्यादै चुनौती छ’,वीरगंजमै उच्च शिक्षा हासिल गरेका संदीप तुल्स्यान भन्छन्,सरकारी कर्मचारी काम गर्न खोज्दैनन्,ढिलासुस्ती गर्छन्,’उनीहरुको लागी यहाँ मजदुरको समस्या सम्बोधन गर्नु फलामको च्युरा चपाउनु सरह भइदिन्छ।

साभार bizmandu.com

तपाईंको प्रतिकृयाहरू