मङ्गलबार, ११ बैशाख २०८१   |   April 23 Tue, 2024

सामाजिक न्याय, सुशासनका पक्षमा दृढतापूर्वक काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ

  पटक पढिएको

२०८०, ११ फाल्गुन शुक्रबार १८:०६ मा प्रकाशित

नेपालगन्ज, फागुन ११ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन गर्दै गृहमन्त्री श्रेष्ठले शक्तिको आडमा अब कोही बच्न नसक्ने भएकाले कुनैपनि शक्तिशालीको प्रभावमा नपर्न, सोसफोर्सको पछि नकुदन र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली ढुक्कसँग सेवा एवम् सुशासनमा दत्तचित्त हुन निर्देशन दिनुभयो ।
उहाँले वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक पहल सुरु गरेकाले नै ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आएको बताउनुभयो ।
प्रदेशलाई अधिकार सम्पन्न बनाउन निजामती ऐन, शिक्षा ऐन र स्थानीय प्रशासन ऐन समेत संसदमा अघि बढाउने तयारी भइरहेको जनाउनुहुँदै गृहमन्त्री श्रेष्ठले प्रदेशमा प्रहरी समायोजनका लागि समिति बनाइसकिएको र अझैपनि केही कानुनी जटिलता रहेको भन्दै संशोधन पास गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।
लुम्बिनीका १२ वटै जिल्लाको सुरक्षा अवस्था, चुनौती तथा प्राथमिकताबारे सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूको रिपोर्टिङ एवम् मन्तव्य सुनेपछि गृहमन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको थियो ।
गोष्ठीमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गर्नुभएको थियो । मुल सुरक्षा चुनौतीका रूपमा आत्महत्या, बैंकिङ कसुर, ज्यान केस तथा अभद्र व्यवहार, लागू औषध ओसारपसार तथा प्रयोग, चोरी, जवजरस्ती करणी, बहुविवाह, ठगी, धार्मिक एवम् साम्प्रदायिक सद्भाव बिथोल्ने जस्ता कतिपय प्रयासबारे प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गर्नुभएको थियो ।
प्रशासनिक र कानुनी सँगसँगै अपराध तथा विकृतिविरुद्ध सचेतना अभियान समेत चलाईएको उहाँहरूले बताउनुभयो ।
गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख स्किम श्रेष्ठ, नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख थानेश्वर गौतम र सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराईले आफू सम्बद्ध महाशाखाको समकालीन प्राथमिकता एवम् कार्यक्रमबारे बोल्नुभएको थियो ।
गोष्ठीको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेय, प्रदेश प्रमुख सचिव राधिका अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अतिरिक्त मुख्य अनुसन्धान अधिकृत टेकेन्द्र कार्की र नेपाली सेना युद्धकार्य विभागका उपरथि प्रेमध्वज अधिकारी लगायतको सहभागीता रहेको थियो ।
नेपाल सरकार, गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी नेपालगन्जमा बिहीबार सुरु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू