बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

भारतले लैजाने प्रबन्ध नगर्दा कुहिन थाल्यो रक्तचन्दन

  पटक पढिएको

२०८०, १७ फाल्गुन बिहीबार ०८:३१ मा प्रकाशित
भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएकोएक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन

काठमाडौँ, फागुन १७ गते ।
नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ ।
अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।
भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो । २०६४/६५ देखि मन्त्रीपरिषद्बाट निर्णय गरी ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरिसकेको छ तर ३६ हजार ९२८ किलो मात्र फिर्ता गरियो ।
त्यसै गरी १२ फागुन २०७१ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । २०७६ पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको छैन ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले यसरी थन्किएर रहेको रक्तचन्दन सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा राखिएको छ । बरामद गरेर राखिएको रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । भारतले रक्तचन्दन नलिँदा काठमाडौँलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूर्ण जग्गा ओगट्नुका साथै सुरक्षाको भार थपिएको छ ।
नेपाल सरकारले धेरै पटक मन्त्रीपरिषद् बैठक बसेर भारतलाई लिन निरन्तर आग्रह गरेको महानिर्देशक वाग्लेले बताउनुभयो । “सरकारले धेरै पटक मन्त्रीपरिषद् बैठक बसेर लिन आग्रह गरिसकेको छ । एक पटक भारतले लियो । त्यसपछि कोरोनाका बेला भारत लिन ठिक्क परे पनि लकडाउन भएकाले लिन सकेन,” उहाँले भन्नुभयो, “गत साउनमा भारतलाई रक्तचन्दन उपलब्ध गराउने भन्दै मन्त्रीपरिषद्ले निर्णय ग¥यो । तयारी पुगेन भनेर लिएन ।”
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सरकारले रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरे पनि तयारी नपुगेको भन्दै नलिएको बताउनुभयो । “भारतले पछिल्लो पटक अक्टोबरमा आवश्यक तयारी पूरा गरेर लैजाने जानकारी दिए पनि लगेको छैन,” उहाँले भन्नुभयो, “हाम्रो कानुनमा रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र पूरा गरिसक्नुपर्ने रहेछ । उहाँहरूले ९० दिनमा तयारी पुगेन भनेर थप समय माग्नुभयो । कानुनले गर्दा थप समय दिन मिलेन ।”
उहाँले भारतले सबै तयारी पूरा गरेर रक्तचन्दन फिर्ता लिने मिति दिने भने पनि अझै नदिएको बताउनुभयो । भारतले सबै तयारी पूरा गरेपछि मन्त्रीपरिषद्बाट निर्णय गरेर फिर्ता गर्ने प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।
भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो । धार्मिक प्रयोजनसँगै औषधीमा प्रयोग हुने भन्दै चीनलगायत तेस्रो मुलुक रक्तचन्दन निर्यात हुने गरेको हो । पछिल्लो समय रक्तचन्दन तस्करी रोकिएको मन्त्रालयका कर्मचारी बताउँछन् ।
यो समाचार आजको गोरखापत्र अनलाईन रहेको छ ।

तपाईंको प्रतिकृयाहरू