आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

दयनीय अवस्थामा पनि घर फर्कने आस

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार १६:२० मा प्रकाशित

दमक : केही वर्षअघि दमकको बेलडाँगीस्थित १ नम्बर भुटानी शरणार्थी शिविर पुग्दा लहरै उभिएका टहरा, शरणार्थीले हुर्काएका बोटबिरुवा र फूलबारीले जो कोहीलाई अर्कै संसार पुगेको भान गराउँथ्यो । टहरा आसपासमा उनीहरूले कुँदेका मूर्ति र भित्तामा सजाएका भुटानको नक्सासहित परिवारको फोटोले लखेटिएर नेपाल आएका शरणार्थीलाई मात्र होइन त्यहाँ पुग्ने नेपालीलाई नै भुटानको कुनै क्षेत्र पुगेको महसुस दिलाउँथ्यो । तर अहिले न त्यहाँ एकदरका टहरा छन्, न त भुटानको झल्को दिने मूर्ति र सजाइएका तस्बिर नै ।

क्याम्प क्षेत्र पूरै झाडी, जंगल र घाँसले भरिएको छ । कतै कतै देखिने केराको बोट र ठडिएका घरका खम्बाले पहिले बस्ती थियो भन्ने संकेत गर्छ । विभिन्न चरणमा नेपालस्थित शरणार्थी शिविरमा रहेका एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक (अमेरिका, क्यानडा, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड) पुनर्वास भएपछि अहिले सो शिविर रित्तो छ । तेस्रो देश जान नमानेका केही परिवार पनि केही किलोमिटर पर रहेको दोस्रो क्याम्पमा सरेका छन् । दोस्रो क्याम्पको हालत पनि दयनीय छ । कुनै बेला भीडभाड र घुइँचो हुने सो शिविरमा पुग्दा वृद्धवृद्धा, महिला र बालबालिकामात्र भेटिन्छन् । जो अझै पनि भुटान फर्किन पाउने आशमा छन् । तेस्रो देश जाने प्रकृया नपुगेर रहेका उनीहरू जीर्ण शिविर कुरेर बसेका हुन् ।

सेल्टर सी ३ हट नम्बर २ मा भेटिएका वृद्ध दम्पती धनबहादुर र चन्द्रमाया अधिकारी अझै भुटान फर्कन पाउने आशामा छन् । उमेरले ७३ वर्ष काटेका उनीहरूको अनुहारले अझै भुटानकै थातथलोमा रमाउने सपना सजाएको छ । ‘उता कति धेरै जग्गाजमिन र घर थियो, रमाएर बसेका थियौं, अब उतै पुगेर मर्न पाए आत्माले शान्ति पाउने थियो’, भुटान फर्कने इच्छा रहेको बताउँदै धनबहादुर गहभरि आँसु पार्दै भने, ‘सबै कता कता गए, रासन काटेपछि त यहाँ समस्यामाथि समस्या थपिएको छ ।’ अधिकारी दम्पतीका पाँच छोरी र नाति नातिना सबै अमेरिका पुगेका छन् । छोराबुहारी छुट्टिएर बसेका छन् भने बुढाबुढी भुटान फर्कने आसमा टहरो कुरेर बसेका छन् । अमेरिका पुगेकाले पनि घर खर्चमा खासै सहयोग नगरेको उनीहरू बताउँछन् ।

धनबहादुरको नजिकै सेल्टर बी २ एक्सटेन्सन ई १ हट नम्बर १०० एक्सका ८३ वर्षीय पूर्णबहादुर गुरुङ पनि भुटान फर्कने आशामा सास थामेर छाप्रोमा छन् । उनको परिवारका सबै सदस्य विदेश गइसकेका छन् । कतै नजाने बरु भुटानै फर्कने ढिड कसेका गुरुङलाई उनका परिवारले अमेरिका पनि लैजान सकेनन् । उनलाई छाप्रोमा ज्वाइँले रुँघेर बसेका छन् । गुरुङ भन्छन्, ‘जन्मेकै ठाउँमा मर्ने इच्छा छ ।’ २७ वर्षअघि भुटानबाट लखेटिएको याद आइरहने बताउने गुरुङ भुटान फर्कने आस भने अझै नमरेको बताउँछन् । ‘भुटानमा हुँदा न हामीले कुनै गल्ती गरेका थियौं, न त केही बिगारेका थियौं, त्यसै ट्रकमा कोचेर काँकडभिट्टामा झारिदियो भुटान सरकारले त्यतिबेला’ गुरुङ सुनाउँछन्, ‘अहिलेमात्रै थाहा भयो सरकारविरुद्ध केही नेताले त्यहाँ जुलुस लगाउँदा हामी पनि त्यही घानमा परेका रहेछौं ।’

त्यतिबेला भुटानमा टेकनाथ रिजाल भन्ने नेताले जनता भेला गरेर जुलुस लगाएकाले आपूmहरूलाई भुटानबाट लखेटेको गुरुङको भनाइ छ । भुटानको साम्ती भन्ने स्थानमा घर भएका गुरुङ अहिले पनि साम्तीको झल्कोले सताउने बताउँछन् ।

बेलडाँगी शिविरका अधिकांश युवा र बालबालिका तेस्रो देश पुनर्बास भइसकेका छन् । अहिले रासन काटिएपछि भुटान फर्कने आसमा बसेका र तेस्रो देश पुनर्बास नभएकाको अवस्था दयनीय बन्न थालेको छ । ‘भुटानले त फर्काएन फर्काएन, नेपाल सरकारले पनि बेवास्ता गर्न थाल्यो । अब त खाना र बस्नै समस्या भइरहेको छ’, बिरामी अवस्थामा शिविरमा भेटिएका धनबहादुर अधिकारीले गुनासो गरे ।

पहिले दिइरहेको रासन काटेर हाल प्रतिमहिना प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ मात्र दिएकाले घर खर्च चलाउनै मुस्किल परेको अधिकारी बताउँछन् । ‘त्यही पैसाले खानुपर्ने, बिजुली पानीको बिल पनि तिर्नुपर्ने अनि उपचार पनि गर्नुपर्ने, कसरी जिउने समस्या छ’, उनी थप्छन् । नजिकै रहेको स्वास्थ्य चौकी पनि अन्यत्रै सारिदिएपछि शरणार्थीलाई समस्या परेको उनीहरूको भनाइ छ । नयाँ व्यवस्थाअनुसार हाल ६ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, अशक्त र अपांगता भएकालाई २८ दिनको रासनबापत १३ डलर अर्थात् नेपाली एक हजार तीन सय रुपैयाँ उपलब्ध गराइँदै आएको छ । अन्य शरणार्थीलाई २८ दिनका लागि ६.५ डलर अर्थात् नेपाली ६ सय ५० रुपैयाँ दिइन्छ ।

सन् २०१६ जुन महिनाअघि शरणार्थीले प्रतिदिन प्रतिव्यक्ति चार सय ४० ग्राम चामल, ९० ग्राम दाल, २५ ग्राम खाने तेल, २० ग्राम चिनी, १० ग्राम नुन र ३५ ग्राम पोषण पीठो पाउँदै आएका थिए । डब्लूएफपीको उक्त सेवासँगै यूएनएचसीआरले तरकारी, साबुन, मट्टितेल र कपडाजन्य सामग्री पनि वितरण गर्ने गरेको थियो । तर जुन महिनापछि डब्लूएफपीले रासन घटाएर प्रतिशरणार्थी प्रतिदिन तीन सय ३५ ग्राम चामल, ६० ग्राम दाल र २० ग्राम खाने तेल वितरण गर्न थालेको थियो ।

सो परिमाणको रासन पनि डब्लूएफपीले २३ जनवरी २०१७ देखि घटाएको थियो । त्यसपछि ६ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, अशक्त र अपांगता भएका शरणार्थीले २८ दिनका लागि १२ केजी तीन सय २० ग्राम चामल, दुई केजी पाँच सय ग्राम दाल र ७० ग्राम खाने तेल पाउँदै आएका थिए ।

अन्यले भने २८ दिनका लागि नौ केजी चामल पाउने गरेको भए पनि अहिले सबै रासन काटिएर रकममा सीमित गरिएको छ । तेस्रो देश पुनर्बास भएपछि हाल झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा मात्र भुटानी शरणार्थी छन् । दुई स्थानमा गरी ६ हजार आठ सय ६ जना शरणार्थी रहेको संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले जनाएको छ । बेलडाँगीमा एक हजार नौ सय ८३ छाप्रोमा ५ हजार ३ सय ३२ जना र पथरीशनिश्चरेमा पाँच सय ३६ वटा छाप्रोमा ती शरणार्थी बस्दै आएका छन् । एक लाख १३ हजार शरणार्थी तेस्रो देश गइसकेका छन् ।

 

तपाईंको प्रतिकृयाहरू