सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

प्रदेश २ मा राजपाका मन्त्री फेर्न दबाब, को–को ‘डेन्जर जोन’ मा ?

  पटक पढिएको

२०७५, १३ फाल्गुन सोमबार १३:२६ मा प्रकाशित

जनकपुर– राजपा नेपालका प्रदेश सांसद तथा राज्यमन्त्रीहरुले प्रदेश नम्बर २ का केही मन्त्रीहरु तत्काल फेर्न सो पार्टीकोे केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् ।

 

 

जनकपुरमा जारी राजपा नेपालको अध्यक्ष मण्डल, मन्त्री तथा प्रदेश सांसदहरुको संयुक्त बैठकमा प्रदेश सांसद तथा राज्यमन्त्रीहरुले मन्त्री फेरबदल गर्न र केन्द्रीय नेतृत्वलाई दबाब दिएका हुन् ।

 

बैठकमा प्रदेशसभा सदस्य र राज्य मन्त्रीहरुले आफ्ना पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको कामप्रति असन्तुष्टि जनाउँदै उनीहरुको स्थानमा अरु नेतालाई पठाउनुपर्ने बताएका हुन् ।

राय मन्त्री भएपछि मन्त्रालय नै नआउने गरेको र घरबाटै काम गर्ने गरेको भन्दै उनको ठाउँमा अर्काे व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सांसदहरुले माग गरेका थिए ।

मन्त्री राय स्वास्थ्यको कारण देखाउँदै विगत लामो समयदेखि निवासबाटै मन्त्रालयका काम गर्दै आएका छन् ।

बैठकमा मन्त्रीद्वयको चर्को आलोचना भएपछि पार्टी नेतृत्वले उनीहरुलाई सफाई दिन समय दिएको थियो । तर ती मन्त्रीहरुले राज्यमन्त्री र सांसदहरुले आफूहरुमाथि झुठो आरोप लगाएर नेतृत्वमा भ्रम छरेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

 

बैठकमा रमेश पटेल, बाबुलाल साह, उपेन्द्र महतो र दुखी यादवलगायत सांसदहरुले मन्त्री राय र साहको काम कारवाही र कार्यसम्पादन अत्यन्त कमजोर रहेको र आगामी दिनमा समेत उनीहरुबाट कुनै आशा गर्न नसकिने भन्दै तत्काल हटाउन माग गरेका थिए ।

जवाफमा केन्द्रीय नेतृत्वले तत्काल मन्त्रीहरु फेर्न असम्भव रहेको बताएपछि स्थानीय नेताहरुले तत्काल निर्णय नलिए विद्रोह गर्ने चेतावनी दिएका थिए । त्यसपछि केन्द्रीय नेतृत्वले अध्यक्ष मण्डलको बैठक बसेर निर्णय गर्ने भन्दै आस्वस्त पारेका थिए ।

मन्त्रीको आफ्नै दाबी 

असन्तुष्ट सांसद तथा राज्यमन्त्रीहरुले मन्त्री रायले विधेयकको नाममा कर्मचारी सरुवा, बिल भुक्तानी र भवन मर्मत सम्भारका नाममा व्यापक अनियमिता गरेको भन्दै जवाफ मागेका थिए ।

तर, मन्त्री रायले यसको जवाफ नै नदिएको एक सांसदले बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उनीमाथि लागेको आरोपको तर्कपूर्ण जवाफ नदिई गलत आरोप लगाएको भन्दै सरकारको कामबाट जनता खुसी रहेको दाबी गरेका थिए ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले मन्त्रीहरुको चर्को आलोचना भएको स्वीकार गरे । उनले सांसद र मन्त्रीहरुको गुनासो अध्यक्षहरुले चासोका साथ लिएको भन्दै त्यसबारे छलफल हुने बताए ।

सांसद र राज्यमन्त्रीहरुको गुनासो 

बैठकमा सांसद र राज्यमन्त्रीहरुले सबै काम मनत्रीहरुले नै गर्ने गरेको गुनासो गरेका थिए । ‘हाम्रो कुनै मूल्य छैन । केही काम गर्नुपर्दा सल्लाह सुझाव वा छलफल पनि गरिँदैन । सबै काम मन्त्रीहरुले मात्रै गर्छन्’, बैठकमा सांसद र राज्यमन्त्रीहरुले गुनासो पोखेका थिए ।  आफूहरुको भूमिका मन्त्रीहरुले निस्तेज पारेको भन्दै आसनग्रहण तथा भाषण गर्नबाहेक नबोलाइने गरेको उनीहरुको भनाइ थियो ।

 

राजपाको बैठक जनकपुरमा प्रदेश सरकारको समीक्षा तथा पार्टीको नीति तय गर्न शुक्रबारबाट जारी छ । बैठकमा स्थानीय तह, गठबन्धन, सरकारका कामकारवाही र पार्टीबाट सरकारमा सहभागी मन्त्रीको अनुभव र समस्या समाधानबारे छलफल भइरहेको राजपा अध्यक्ष मण्डलले जनाएको छ ।

 

बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव सहभागी छन् । बैठकमा प्रदेश नम्बर २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा सहभागी छन् ।
प्रदेश नम्बर २ मा सङ्घीय समाजवादी फोरम र राजपा गठबधनको सरकार छ ।

साभार ratopati.com

 

तपाईंको प्रतिकृयाहरू