शुक्रबार, २१ बैशाख २०८१   |   May 3 Fri, 2024

पर्साका सहकारीमा स्वरोजगार कोषको अनुगमन शुरू

  पटक पढिएको

२०७६, १८ बैशाख बुधबार १६:५६ मा प्रकाशित
युवा स्वरोजगार कोषले पर्सा जिल्लामा स्वरोजगार कार्यक्रमअन्तर्गत भएको कर्जा लगानीको अनुगमन शुरु गरेको छ । बैशाख १२ गतेदेखि कोषका अनुगमनकर्ताद्वय शाखा अधिकृत भाष्करदत्त जोशी र अनुगमन सहायक धीरज अधिकारी एवम् जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य–सचिव सुनीलकुमार रौनियारको संयुक्त टोलीबाट अनुगमन कार्य शुरु गरेको हो ।
२०६५ सालमा स्थापित कोषले ७५ जिल्लामा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । कोषले २०६९ सालमै पर्सामा लगानी गर्न शुरु गरेको थियो । कोषको कार्यक्रमबाट पर्सामा मात्रै ४ सय २२ जना युवा प्रत्यक्ष लाभान्वित भएको सदस्य–सचिव सुनीलकुमार रौनियारले बताए ।
‘कोषको कार्यक्रमबाट पर्सा जिल्लाभर चार सय २२ युवा लाभान्वित भएका छन्,’ उनले भने, ‘यसले सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारालाई टेवा पुर्याएको छ । ’
जिल्लामा २८ वटा सहकारी संस्थाले स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेका छन् भने कोषको थोककर्जा आह्वान सूचनाअनुसार थप २० वटा सहकारीले कर्जा प्रस्ताव पेश गरेको शाखा अधिकृत भाष्करदत्त जोशीले बताए । अधिकृत जोशीले नयाँ सहकारीले करिब १० करोड कर्जा माग गरेको बताए ।
‘कोषको सूचना बमोजिम पर्सामा थप नयाँ सहकारी संस्थाले कर्जा प्रस्ताव पेश गरेको हुँदा सो सहकारीहरुको स्थलगत अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘कोषको मापदण्ड पुरा गरेका सहकारी संस्थालाई कर्जा लगानी हुन्छ ।’
त्यस्तै जिल्लाभरिका २८ वटा सहकारी संस्थाले यसअघि नै कोषसँग ११ करोड ४२ लाख रुपैयाँको थोककर्जा सम्झौता गरिसकेको अनुगमन सहायक धीरज अधिकारीले बताए । उनले सम्झौता भएका सहकारी संस्थालाई कोषको नियमानुसार किस्ताबन्दी निकासा दिन तथा लगानी कार्यक्रमको लक्ष्यअनुरुप भए/नभएको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।
‘कोषसँग २८ वटा सहकारी संस्थाले ११ करोड ४२ लाखको थोककर्जा सम्झौता गरेकोमा हालसम्म ८ करोड ३८ लाख ५० हजार निकासा भईसकेकोमा ३ करोड ३ लाख ५० हजार निकासाको लागि स्थलगत अनुगमन भईरहेको छ ।’ उनले भने, ‘थपकिस्ता निकासालाई मात्रै नभएर कोषको मर्म र मापदण्ड अनुसारको लगानी भए/नभएको स्थलगत अनुगमन गरेका छौं ।’
टोलीले अनुगमनसँगै त्रैमासिक रुपमा कोषलाई बुझाउनुपर्ने साँवाब्याज रकम बैङ्क दाखिला गर्न ताकेतालाई पनि तीब्रता दिएको छ ।
अनुगमनको साथसाथै कोषले असूलीका लागि छुट्टै टोली खटाएको छ । असूली शाखा प्रमुख लोकबहादुर खड्का र बीमा शाखा प्रमुख सूर्यप्रकाश तिवारीको टोलीले जिल्लास्थित उपकार, भगवती र चेतना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुसँग भेट गरी बक्यौता रकम कोषमा चुक्ता गर्न सुझाएको छ । यसअघि जिल्ला संयोजन तथा अनुगमन समितिले तीन सहकारीका पदाधिकारी तथा सदस्यहरुको जग्गा रोक्का राखेको थियो ।

तपाईंको प्रतिकृयाहरू