मङ्गलबार, १८ बैशाख २०८१   |   April 30 Tue, 2024

जनयुद्धलाई फर्केर हेर्दा: क्रान्ति जारी छ कि, पूरा भयो वा धोका भयो ?

सन्दर्भ जनयुद्ध दिवस

  पटक पढिएको

२०७६, ४ फाल्गुन आईतवार १५:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय स्तरमा समाजवादी खेमाको नेतृत्व गरेको सोभियत संघको विघटनसँगै पूर्वी यूरोपका देशहरुमा प्रतिक्रान्तिको लहर चलेको थियो भने नेपालमा संसदीय व्यवस्था पुनस्र्थापित भएको थोरै मात्र समय भएको थियो । जनताको एउटा हिस्सामा संसदीय राजतन्त्र नै सबथोक हो भन्ने भ्रम थियो । यही प्रतिकूल अवस्थामा नेपालमा जनयुद्धको सुरुवात भएको थियो । यो लेखमा जनयुद्धलाई फर्केर हेर्ने जमर्को गरिएको छ ।

१. बिसौं शताब्दी : क्रान्ति र प्रतिक्रान्तिका ज्वारभाटाको शताब्दी

उन्नाइसौं शताब्दीको मध्यतिरबाट नै उदयमान पूँजीपति वर्ग र नयाँ जन्मेको सर्वहारा वर्गबीचको टकरावले समाजमा सर्वोच्च स्थान ओगट्न थालीसकेको थियो । त्यही सर्वहारा वर्गको मुक्तिको निम्ति सिद्दान्त भनेर माक्र्सवादको रचना गरियो । माक्र्सवादको रचना सँगसँगै फ्रान्समा उथलपुथल देखा पर्यो ।

छोटो समयमात्र टिकेको मजदूर वर्गको पहिलो सत्ता पेरिस कम्युन स्थापना भयो । सत्ता सम्बन्धी भयंकर ठूला खजानाहरु दिएर इतिहासको गर्भबाट पेरिस कम्युन बिलायो । प्रथम अन्तर्राष्ट्रिय गठन र विघटन भयो । उन्नाइसांै शताब्दी सकिनै लाग्दा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो ।

बिसौं शताब्दीको सुरुको दशकमै रुसमा क्रान्तिको ज्वार उठिसक्यो । ठूलो रक्तपात भयो र क्रान्तिको गला रेटियो । केहीले चिच्याए र भने विद्रोह गर्नु गल्ति थियो । हतियार उठाउन नहुने थियो । लेनिनले झन ठूलो स्वरमा भने विद्रोह गर्नु विल्कुल सही थियो । हतियार उठाउनु एकदम जायज थियो तर हतियार दरोसँग समात्न नसक्नु गल्ति भयो ।

प्रतिक्रान्तिपछि क्रान्तिको तयारी गर्न बाह्र वर्ष लाग्यो । १९१७ को फरबरीमा वुर्जुवा क्रान्तिले जारशाही राजतन्त्रको अन्त गरायो भने अक्टोबरमा समाजावदी क्रान्तिमार्फत् श्रमजीवी वर्गको पहिलो व्यवस्थित सत्ता स्थापना गरायो । साम्राज्यवादको कमजोर किल्लामा धावा बोलियो ।

विश्वका श्रमजीवी वर्गलाई एउटा सन्देश प्रवाह गरियो– निराश नहोऊ दुःखियाहरु तिम्रा पनि दिन फर्किंदैछन् ।

पूँजीवादको विकल्पमा समाजवादी धुरीको स्थापना भयो । दोश्रो अन्तर्राष्ट्रि«यको विचलनवादी नीतिले त्यसले आफ्नो औचित्य गुमायो र तेस्रो अन्तर्राष्ट्रिय जन्मियो । विश्वव्यापी रुपमा उपनिवेशवादविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको लहर चल्यो ।

चीनले साम्राज्यवादबाट मुक्ति र सामान्तवादबाट मुक्तिको दोहोरो कार्यभार नयाँजनवादी क्रान्तिबाट एकैसाथ सम्पन्न गर्यो । भियतनाम आठ फिट अग्ला गोलिका खोकाहरुको चाङमा उभिएर सिंगै देशलाई हस्तक्षेपकारी साम्राज्यवादविरुद्ध विजयका पतका फहराउन सफल भयो ।

कोरियामा साम्राज्यवादीहरुले देशलाई एकताबद्ध हुन दिएनन् तर क्रान्तिलाई मार्न सकेनन् । आज पनि साम्राज्यवादको मुटुको किला बनेर उभिएकै छ । क्युवा साम्राज्यवादको नाकैमुनि उभिएर भन्दैछ– हेर तिम्रो भन्दा फरक विश्व व्यस्था हामीसँग छ जहाँ श्रमजीवीमाथि उत्पिडन गरिँदैन ।

बिसौं शताब्दीमा दुई वटा विश्वयुद्ध भए । पूँजीपति वर्गबीच नाफा कमाउने र विश्व आफ्नो कब्जामा पार्ने होडबाजीका कारण युद्धहरु भए । कि विश्वयुद्धले क्रान्तिको बिजारोपण गर्छ कि क्रान्तिले विश्वयुद्ध रोक्छ भन्ने सावित भयो । पहिलो विश्वयुद्धले अक्टोबर क्रान्तिलाई जन्म दियो भने दोस्रो विश्वयुद्धको गर्भबाट चीनीयाँ नयाँ जनवाद जन्मियो ।

बिसौं शताब्दीमा सफलता मात्र होइन । पराजयका अनन्त श्रृंखला पनि छन् । अफगानिस्तानमा साम्राज्यवादी षडयन्त्र सफल भयो । मलायाको जंगल क्रान्तिकारीहरुको रगतले लत्पतियो । बर्मामा उठेको ठूलो छाल समुन्द्रमा नपुग्दै सुक्यो ।

बिसौं शताब्दीकै ठूलो राजनैतिक आम संहार इन्डोनेसियामा भयो । संसारकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी आम नरसंहारको शिकार भयो । त्यस्तै चिलीमा निर्वाचित राष्ट्रपति एलेन्डेको सरकार साम्राज्यवादकै पालितपोषितद्वारा सैनिक कू मात्र गराएनन् राष्ट्रपति सहितको आम संहार गरेर अन्त गराए ।

दक्षिण अमेरिकाको अत्यन्तै सफल जनयुद्ध पेरुको राजधानी लिमा कब्जाको तयारीमै रहेको बेला अकस्मात कमरेड गोञ्जालोको गिरफ्तारीसँगै सिद्धियो । अहिले आयाकुचोको आधारइलाकामा कमरेडहरु भेटिँदैनन् ।

त्यहाँका आदिवासीहरुलाई भविष्यमा समेत विद्रोह नहोस् भनेर लिमा पुर्याएर प््mयाक्ट्रीको काममा लगाइएको छ । तैपनि चे र चाभेजका हुँकारहरुबाट दीक्षित दक्षिण अमेरिकीहरु नवउदारवादी साम्राज्यवादी भूमण्डलीकरणको विकल्पमा निरन्तर प्रयत्नशिल छन् ।

अफ्रिकातिर कतै झिल्काहरु देखिन्छन् । युरोपमा वैकल्पिक व्यवस्थाको खोजी हुँदैछ । दण्डकारण्यतिर अहिले पनि कमरेडहरुले एम्बुस थापिरहेका छन् भने कन्हैया कुमारहरु खुलेआम पूँजीवादमाथि धावा बोलिरहेका छन् ।

फिलिपिन्समा सत्तरी वर्षका कमरेडहरु अहिले पनि थाकेका छैनन् । एके फोर्टी सेभेन बोकेर हिडिरहेका छन् । चीन चीनीयाँ विशेषताको समाजावाद बनाउने अभियानमै लागिरहेको छ ।

संसारभरीका समाजवादीको विम्व बनेको समाजवादी धुरी सोभियत समाजवाद ढलेको थियो र दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयसँगै निर्मित बर्लिनको पर्खाल भत्काइएको थियो । पूर्वी यूरोपमा प्रतिक्रान्तिको लहर चल्यो ।

बिसौं शताब्दी सकिनै लाग्दा नेपालमा जनयुद्धको आँधी अत्यन्त प्रतिकूल अवस्थामा उठेको हो ।

समाजवादी इतिहासको अन्त्य भयो भनेर स्याल हुइयाँ मच्चिरहेको बेला मानवजाती रहेसम्म समाजवाद र मुक्तिको अभियान रोकिँदैन भन्ने शंखनाद गर्दै नेपालले भन्यो– सगरमाथातिर हेर नयाँ विश्व जन्मदैछ !

२. नेपाली जनयुद्ध पनि अरु देशमा चलेका क्रान्ति र प्रतिक्रान्तिका प्रवाभबाट अछुतो रहने कुरै भएन । रुस र चीन वा माओ र ख्रुश्चोव वा दुई धारबीचको लडाइमा नेपालले आफ्नो धेरै विशेषता चीनियाँ क्रान्तिसँग मिल्ने निक्र्याैल गर्यो । पहिलो नेपाली क्रान्तिले अर्ध सामन्ती र अर्ध औपनिवेशिक नेपालको अवस्थालाई बदल्ने र पूँजीवादी जनवादी क्रान्ति हँुदै स्वाधीन नेपाल निमार्ण गर्ने । सामन्तवादको राजनैतिक प्रतिनिधि राजतन्त्रको अन्त्य गर्ने, राजतन्त्रलाई भरथेग गर्ने संरचनाहरु एकात्मक र केन्द्रीकृत शासन प्रणाली, एकल जातीय हैकम, राज्यसँग जोडिएर गरिने एकल धार्मिक बर्चश्व, किसानहरुलाई उत्पीडन गर्ने जमिन्दारी लगायतका प्रथाहरु, मजदूरहरुको निर्मम शोषण, शिक्षा र स्वास्थ्यमा निश्चित वर्गको वर्चश्वको अन्त्यको जरुरी थियो ।

यी सबमा राज्यसत्ताले बलपूर्वक अड्डा जमाएर बसेको थियो र त्यसलाई एउटा धक्काको जरुरत थियो । त्यही धक्काको काम जनयुद्धले गर्यो । त्यो जनयुद्धको चरित्र दीर्घकालीन हुने, पार्टी, सेना र संयुक्त मोर्चाको प्रयोग गरिने तर पार्टी नै मुख्य हुने, गाँउलाई आधार मान्ने तर शहर पनि नछोड्ने, सशस्त्र संघर्ष मुख्य हुने तर जनसंघर्षलाई पनि नछोड्ने आदि कार्यशैली अबलम्बन गरियो ।

जनयुद्धले एकपछि अर्को गर्दै छालमय विकास गर्यो । भयानक दमन र शक्तिशाली प्रतिरोधका अनन्त श्रृंखलाहरु जनयुद्धका नियमित कार्यजस्तै भए । यति विशाल मात्रामा प्रतिरोध र जनपरिचालन हुन थाल्यो कि राज्यको सम्पूर्ण संयन्त्रको परिचालन पनि नकाम सावित भयो । देशमा त्रिकोणात्मक शक्ति संघर्षको अवस्था उत्पन्न भयो । निरंकुश राजतन्त्र, संसदीय धारका राजनैतिक दलहरु र जनयुद्धरत माओवादी ।

१२ बुँदे सहमतिले तीनधारलाई दुई धारमा रुपान्तरण गरिदियो । अब संसदवादी राजनैतिक दल र माओवादी मिलेर एकै निशानामा प्रहार गर्न थाले । त्यसकै परिणाम थियो दोस्रो जनआन्दोलन ।

दोस्रो जनआन्दोलनले युद्धको समस्यालाई राजनैतिक ढंगले हल गर्यो । जनताले आफ्नो कानुन आँफै बनाउन पाउने माओवादीवार्ताको एक प्रमुख मागलाई राष्ट्रिय एजेन्डा बनाउने, संविधानसभामार्फत् राजतन्त्रको विदाई गर्ने, देशलाई संघीय गणतन्त्रात्मक ढाँचामा रुपान्तरण गर्ने, धर्म निरपेक्ष बनाउने, एकल जातीय हैकमलाई समानुपातिक प्रणालीमार्फत् हल गर्ने । यी सबै माओवादी प्रस्तावहरुमा अन्यदल सहमत भए । नयाँ प्रणालीमा प्रवेश गरेपछि शान्तिपूर्ण प्रतिस्पर्धालाई माओवादीले स्वीकार गर्यो र आजको ठाऊँमा हामी उभिएका छौं ।

आज जसलाई हामी उपलब्धी भनिरहेका छौं तिनीहरु सबै जनयुद्ध र जनआन्दोलनको जगमा खडा भएका छन् ।

३. नेपाली जनयुद्धले पुरा गर्न नसकेको र बाँकी रहेको कार्यभार हो समाजवादी गणतन्त्र स्थापना गर्नु । माथि भनियो राज्यको नयाँ ढंगले रुपान्तरण गर्ने र प्रतिस्पर्धा नयाँ ढंगले गर्ने प्रक्रियामा सहमत भएर एउटै कार्यनीति अंगिकार गरेपछि कम्युनिस्ट आधारका दुई ठूला पार्टीहरुको बीचमा एकता गरेर नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) बनेको छ ।

यहाँ स्मरणीय विषय यो छ कि यो प्रतिस्पर्धा राजतन्त्रात्मक प्रणालीभित्रको नभएर संघीय गणतन्त्रात्मक प्रणालीभित्रको हो । जुन नीतिलाई जनयुद्धकालमै एक्काइसौं शताब्दीको जनवादको विकासको प्रस्तावनामा तत्कालीन माओवादीले उल्लेख गरेको थियो ।

क्रान्ति जारी छ कि पूरा भयो वा धोका भयो ?

नेपालको कम्युनिस्ट आन्दोलनमा यसबारे निरन्त वहश चलिरहेको छ । बिसौं शताब्दीको वर्ग संरचना, समाजको विकासमा थुप्रै बदलाव आएको छ । अहिलेको समाजलाई चौथौ औद्योगिक क्रान्तिकाल भनिन्छ । उस्तै रुपको सर्वहारा वर्ग त छैन तर मेसिनले विस्थापित गर्ने नयाँ तप्का पैदा हँुदैछ ।

मध्यम वर्गको संख्या निर्णायक हुँदैछ । बिसांै शताब्दीलाई श्रमीक वर्गहरु प्रभावी रहेको शताब्दी भनिन्थ्यो भने एक्काइसौं शताब्दीलाई मध्यम वर्ग प्रभावी रहने शताब्दी भनिँदैछ । क्रान्ति समाजको अभिन्न अंगहो र यो निरन्तर प्रवाह हो । यो न त रोकिन्छ न मर्छ नै । यो आफ्नै मौलिकतामा अगाडि बढ्छ ।

आजको दुनियाँ विज्ञान र प्रविधिको भरपुर प्रयोग गर्ने अवस्थामा छ । सामाजिक जीवनका सर्वत्र अंग प्रविधिविना चल्नै नसक्ने भएका छन् । शोषणको तरिकामा बदलाव आएको छ तर असमानताको खाडल झन् भयावह हुँदैछ । मुट्ठीभर मान्छेहरुको हातमा संसारको धनराशी थुप्रिँदैछ । आज वस्तु उत्पादन र श्रम विभाजनको चरित्र विश्वव्यापी भएको छ । विचारको विकास र क्रान्तिको तरिकामा विकास नगरी हामी अगाडि बढ्न सक्दैनौं । क्रान्ति सम्बन्धी पुराना मान्यताबाट पनि मुक्त हुनु छ साथै परम्परागत संसदवादको आहालबाट पनि बच्नु छ । यही हो आजको चुनौति ।

जनयुद्धले हामीलाई यो ठाँउमा ल्याइ पुर्याएको छ । निरन्तर अगाडि बढ्न सहिदको रगत र जनताको पसिनाले खबरदारी गरिरहेको छ ।

(आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा समाजवाद अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष हुन् ।)

साभार nagrikkhabar

तपाईंको प्रतिकृयाहरू