आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

ओम्नीको चक्रव्यूहमा नफस्ने पार्टी बनाऔं: पद होइन पद्धति बाँडौं

नेकपा का युवा नेता रामदीप अचार्य

  पटक पढिएको

२०७७, २० बैशाख शनिबार १५:४९ मा प्रकाशित

मार्क्सवाद र निर्विकल्प

मार्क्सवाद दर्शन अनुसार संसारमा हर वस्तु गतिशिल छ । आधुनिक विज्ञानले पनि यसलाई जोडदार ढंगले पुष्टि गरिसकेको छ । सच्चाइको दृष्टिले द्धन्द्धात्मक भौतिकवादी मार्क्सवाद दर्शन र आधुनिक विज्ञान एकाकार जस्तै भएका छन् । वैज्ञानिकहरुका अनुसार हामी रहेको ब्रह्माण्ड (Universeवा बहुब्रह्माण्ड Multiverse पनि हुन सक्छ) विस्तारमान छ । संसारमा रहेको कुनैपनि वस्तु गतिहिन र स्थिर छैन । त्यस्तै गरी संसारमा रहेको कुनै पनि वस्तु, समाज र व्यक्ति निर्विकल्प छैन । मानिस मरणशील प्राणी हो, तसर्थ को कतिबेला मर्न सक्छ अनिश्चित छ । कुनै पदमा आसिन कुनै व्यक्ति निर्विकल्प छ भन्ने मत अवैज्ञानिक, इतिहास विरोधी र अल्पज्ञानमा आधारित छ । मानव जातिको विकास प्रक्रियालाई हेर्ने हो भने आदिम साम्यवादलाई दास मालिक युगले विकल्प दियो, दास मालिक युगलाई सामन्तवादले प्रतिस्थापित गर्यो । पूँजीवाद शास्वत छ भन्ने लुटेराहरुको तर्कलाई समाजवाद विकल्प हो भनेर पुष्टि भयो । समाजवाद पनि उन्नत चरण साम्यवादमा पुग्छ र साम्यवादको ठाँऊ पनि अझ उन्नत समाज व्यवस्थाले लिनेछ । यो कसैको लहड भन्दा परको समाज विकासको स्वतन्त्र नियम हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विकल्प छैन भनेको सुन्दा हाँसो उठ्छ । भिमसेन थापादेखि आजसम्म एकले अर्कोलाई विकल्प दिएर नै हामी यहाँसम्म आएका छौं, हौं । हामी यहाँ अलौकिक शक्ति प्राप्त, असाधारण, महामानव (Superman) कोही पनि होइनौं, छैनौं । अहिले कसैको देवत्वकरण र कसैको दानवीकरण जरुरी छैन । झन् सचिवालयको वैठकमा नै वामदेव कमरेडलाई कोरोना पछिको प्रधानमन्त्री प्रस्ताव गरिसकेपछि ‘निर्विकल्प सिद्धान्त’ स्वतः खण्डित हुन्छ, भयो । पार्टी, राज्य, अध्यक्ष, प्रधानमन्त्री, मन्त्री आदी सबै मानव निर्मित हुन् प्राकृतिक गुण होइनन् । मानव निर्मित सबैलाई मान्छेले परिवर्तन गर्छ, र गतिशील बनाउँछ । सत्तरी हजार वर्षअघि अफ्रिकाबाट बाहिर आँउदा होमो सेपियन्सका हाम्रा पूर्खाहरु प्रधानमन्त्रीको नेतृत्वमा आएका होइनन् । मान्छेले आफ्नाे इतिहास आफै बनाएको हो ।

कुनैबेला मिश्रले विश्व सभ्यताको अगुवाई गर्दथ्यो, कुनै समयमा इटलीका रोमनहरुले विश्वमा राज गर्दथे । बेलायत त कहिल्यै सूर्य नअस्ताउने’ साम्राज्य थियो विश्वको एकतिहाई भूभागमा उपनिवेश कायम गरेर । आजको एकल महाशक्ति अमेरिकाको ओरालो यात्रा हामी सबैले देखिरहेका छौं । पुरानोले टिकीरहन जोडबल गर्ने र नयाँले पुरानोको ठाँऊ लिन प्रयत्न गर्ने नियम सर्वत्र लागु हुन्छ । धेरै जसो शब्दरुको उत्पति स्रोत मानिने ल्याटिन भाषा आजकाल मृत भाषा मानिन्छ । संभवत् चार अर्ब वर्षपछि त हाम्रो पृथ्वी पनि नाश हुनेछ, दुईवटा तारापुञ्जहरु ठोकिएर । यहाँ अजर अमर कोही पनि छैन ।

लोकतन्त्र तर बंगलादेशी मोडेलको

अहिले लोकतन्त्रको हत्या बन्दूक नबोकेरै लोकतान्त्रीक प्रक्रिया ( चुनाव मार्फत् ) नै हुने गरेको दृष्टान्त धेरै देशहरुमा छ । यसको नजिकको मोडेल हो बंगलादेश । जहाँ आवधिक निर्वाचन हुन्छ, दलहरुले प्रतिस्पर्धा गर्छन्, कानून अनुसार नै सबै काम हुन्छ तर सब देखाउनको लागि मात्र । ज्ञानेन्द्र शाहीको नगर निर्वाचन जस्तो । सबै कुरा पूर्व निर्धारित हुन्छ । पहिलो आफ्नो दलभित्र एकछत्र पकड कायम गरिन्छ, त्यसपछि प्रतिस्पर्धि दललाई ठेगान लगाइन्छ, नेताहरुलाई कुनै न कुनै अभियोगमा जेल हालिन्छ, आफू अनुकूल कानूनको प्रयोग गरिन्छ वा नयाँ कानून निर्माण गरिन्छ । राज्यका सबै निकायमा नियन्त्रण कायम गरिन्छ । कुन कुन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न दिने भनेर प्रधानमन्त्रीको कोटरीले छनौट गर्दछ, अथवा जित्नेहरुको सूचि पहिल्यै तयार पारिन्छ, चुनाव पछि नतिजा आउँछ , झण्डै शतप्रतिशत । संसारभरबाट आफू अनुकूलका निर्वाचन पर्यवेक्षक बोलाइन्छ, लोकतन्त्रको हर्सबढाई हुन्छ । विरोधका स्वरहरु पनि सुनिन्छ, देखिन्छ तर तिनलाई क्रुरतापूर्वक दबाइन्छ । यसरी लोकतान्त्रीक प्रक्रिया पुरा गरेरै लोकतन्त्रको हत्या गरिन्छ । के हामीले लागु गर्न खोजेको मोडेल बंगलादेशी नै हो त ?

जनमत कसको पार्टीको कि व्यक्तिको ?

गएको संघीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमत पार्टीलाई हो वा व्यक्तिलाई ? कुनै जादूगरको चमत्कारको कारण जनताले मतको प्रयोग गरेको हो वा सातदशक लामो जनताको कम्युनिष्ट आन्दोलन प्रतिको अगाध विश्वासलाई अभिव्यक्त गर्ने अवसरको रुपमा हो ? पार्टी, वर्ग, आन्दोलन र जनता एवं कार्यकर्ताहरुको अकथनिय योगदानलाई अवमूल्यन गर्ने तर व्यक्तिको महिमागान गाउने कम्युनिष्ट नीति र विधि होइन । कम्युनिष्ट सिद्धान्त सामूहिकतावादमा आधारित हुन्छ र हुनुपर्दछ, व्यक्तिवादमा होइन । यो तथ्यमा आधारित पनि छैन । हामीले अबलम्बन गरेको प्रणाली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय होइन, जनताले चुनेका प्रतिनिधिले दलको नेता छान्ने र दलको नेता नै प्रधानमन्त्री हुने प्रणाली हो । अतः गत निर्वाचनमा प्राप्त मत पार्टीलाई हो व्यक्तिलाई होइन ।

शताब्दीभरि टिक्ने पार्टी बनाऔं

पार्टी एकदुईवटा चुनावलाई केन्द्रमा राखेर बनाउने हो वा शताब्दीभरी टिक्नेगरी बनाउने हो ? पार्टी कस्तो बनाउने भन्ने कुरा पार्टीको विचार, संगठन, कार्यशैली र जनतासँगको सम्बन्ध कस्तो छ भन्ने कुराले निर्धारण गर्दछ । खासगरी नेतृत्वमा रहनेको शैलीले धेरै हदसम्म पार्टीको जीवन निर्धारण गर्दछ । अहंकारी, सर्वेसर्वा, सर्वज्ञानी जस्तो र एक्लो सफल शासक बन्ने चहाना राख्ने नेतृत्वले पार्टीलाई दूर्घटनातिर लैजान्छ भने सबैसँग सहकार्यद्धारा सामूहिक निर्णयमा चल्ने, कमिटी प्रणालीलाई हरदम अनुसरशण गर्ने, संकट पर्दा सहयोद्धाहरु सँगै रहने र जनताको विचबाट निकाश खोज्ने नेतृत्वले पार्टीको दीर्घजीवनमा टेवा पुर्याउदछ । व्यक्तिको रुपमा हामी रहेपनि नरहेपनि निरन्तर उत्तराधिकारवाला संस्थाको रुपमा पार्टी भने रहीरहने छ । संसारमा शताब्दी पुराना पार्टीहरु छन् जो जनताको विचमा अविच्छिन्न रुपमा टिकीरहेका छन् । हाम्रो पार्टीको जग पनि त्यसरी नै खडा गर्नुपर्दछ । निरन्तर पार्टीमा रक्तसंञ्चार गर्न पार्टीलाई पनि युवा पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । जुन युवाहरु धर्मान्धजस्तो भएर धरहराबाट आत्मादाहा गर्न तयार हुने होइन सृजनशिल होउन, वर्ग, समाज, पार्टी र राष्टको हितलाई सर्वोपरी राखुन् नकि एउटा सानो झुण्डको । मैले राईदाई गरुञ्जेल यो पार्टी रहन्छ । यदी यो पार्टीमा मेरो प्रभुत्व समाप्त हुने वित्तिकै यो पार्टी एकताबद्ध रहने छैन भन्ने मतले पार्टीलाई संकटमा धकेल्ने छ ।

पद होइन पद्धति बाँडौं

प्रत्येक व्यक्तिलाई खल्तिबाट पद बाँडेर ललिपपमा भुलाउने, फुटाउने र शासन गर्ने सामन्ती शैली हो कम्युनिष्ट शैली होइन । आजको आवश्यकता भनेको पद बाँड्ने होइन पद्धतिमा पार्टी सञ्चालन गर्ने हो । पद्धति बाँडेर मात्रै यो पार्टी ठीक ढंगले चल्ने छ । भीमसेन थापाको पालादेखि वालुुवाटारमा थुप्रिएका थांनामा धेरै पटक धेरै जना सुेतेका पनि छन् । ती थांग्नाले सुत्नेको शरिरमा थुलो मात्रै थपिएको छ भने सुताउनेको पनि क्षणिक आत्मारति बाहेक दीर्घजीवन भएको छैन । आधुनिक वैज्ञानिक सभ्य युगमा धेरै थरी कपडा कारखानाहरु बनि सकेकाले थांग्नाको व्यापार धेरै फस्टाउने पनि छैन ।

 यस्तो पार्टी निर्माण गरौं

हाम्रो पार्टी इतिहासकै संकटपूर्ण घडीमा छ एकातिर भने अर्कोतिर जनमतको चुचुरोमा छौं । सबैखाले संघर्षको बलमा हामी यहाँ खडा भएका हौं । यदी सगरमाथा जस्तो चुचुरोमा उभिएर सानो थुम्कोमा बसेजसरी खेलाँची गर्यौं भने हामी चुचुरोबाट तल झर्नेछौं, हाम्रा हड्डीहरु चुरचुर हुनेछन् । हाम्रो लाश लिन समेत कोही आउने छैनन्, सक्ने छैनन् । अहंकारको घोडाबाट ओर्लेर मात्रै यो संकटबाट पार पाउने छौं । उसैपनि संकटपूर्ण अवस्थाबाट गुज्रिदैआइरहेका हाम्रा पूर्वपार्टीहरुको एकतापछि शक्ति र जनबलको मात्रै केन्द्रीकरण भएको होइन संकटको पनि केन्द्रीकरण भएको हो । दूर्भाग्यको कुरा हामीले संकटको समाधानको उचित पहल गर्न सकेनौं । संकटको गहिराई अनुसार नै समाधानले उचाई लिनु पर्ने हो । महान् सपना बोकेका मान्छेहरु सानो पदका अगाडि लाचार छायामात्रै बन्यौं । पद प्राप्त गर्नु र पदमा टिकीरहनुलाई नै जिन्दगीको सबैभन्दा ठूलो सफलता ठान्यौं, श्रमजीवी वर्ग त ठगिखाने भाँडो बनायौं ।

अब हामी यस्तो पार्टी बनाऔं । जुन पार्टी यती, उती र ओम्नीको चक्रव्यूहमा नफसेको होओस् । सानो समूहको लागि राज्यको सम्पतिको दोहन गरेको आरोप नलागेको होओस् । साम्रज्यावादी जालमा परेर एमसिसि जस्तो राष्ट्रघाती संझौता गरेर हाम्रो अनुहारमा कलंक नपोतियोस्, र त्यही संझौता अस्थिरताको कारण नबनोस् । हामी त्यस्तो व्यवस्था निर्माण गरौं जहाँ एउटा सांसदले अर्को सांसदलाई सुरक्षा प्रदान गर्न घरबाटै दलबलसहीत उठाउनु नपरोस् । आस्थाको आधारमा सबै स्वतन्त्र रहने र जहाँ रहेपनि बोल्न र निर्णय गर्न सकुन् । आफ्नो पार्टीमा र राज्यमा विरोध गर्नेको मुख थुनेर अर्काको स्वतन्त्रताको दुहाई दिन नपरोस् । हजारौं शहीदहरुको रगतले रक्तरञ्जीत हाम्रो पार्टीलाई एकताबद्ध राखौं । सचिवालय, स्थायी कमिटि, केन्द्रीय कमिटी र आवश्यक परे महाधिवेशनसम्म जान तयार बनौं । तर पार्टी एकतालाई बचाएर मात्र । संघर्षबाट कोही पनि नडराऔं र नभागौं । एकता — संघर्ष— फूट होइन, एकता— संघर्ष— संझौता पनि होइन, एकता— संघर्ष —रुपान्तरण रौजौं ।

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । सँगसँगै नयाँ विश्व व्यवस्थाको बहश पनि जोडतोडले चलिहरेको छ । नवउदारवादी पूँजीवादी विश्वको असफलता उदांगो भइरहेको छ । नाफाको लागि जे पनि गर्न तयार हुने पूँजीवादले पृथ्वीलाई मानव बस्नै नहुने ग्रह बनाउदैछ । दशाग्रहका कारण होइन कि पूँजीवादी लुटका कारण हाम्रो ग्रह हामी बस्न नुहने बन्दै गरेको हो । वातावरणीय संरक्षण अर्थात् पृथ्वीको संरक्षण, धनी र गरिबका विचको बढ्दो खाडलको अन्त्य र समानतायुक्त समाज निमार्ण, आणविक होडबाजीको अन्त्य आदी आजको ज्वलन्त सवालहरु हुन् । असमानता, युुद्ध, भोकमरी र महामारीको अन्त्य र वातावरणीय संरक्षण हाम्रा कार्यसूचिमा हुनैपर्दछ । नवउदारवादी युगको अन्त्यको शुरुवात भइसकेको छ । अब अर्थराजनीतिको पनि नयाँ परिभाषा जरुरी भइसकेको छ । सबैको ध्यान यतातिर जान जरुरी छ ।

साभार nayasamaj.com

तपाईंको प्रतिकृयाहरू