मङ्गलबार, १८ बैशाख २०८१   |   April 30 Tue, 2024

सरावगी, यादव र गद्दी मध्ये बीरगञ्जलाई कसले बन्धक बनाउन खोजेको हो ?

सुशिल भट्टराई, ठाराव क्याम्पस, बीरगञ्जका प्राध्यापक

  पटक पढिएको

२०७७, २६ बैशाख शुक्रबार १९:४१ मा प्रकाशित

बीरगञ्जको शुरुवाति विकास क्रमः

शान्त बीरगञ्ज, सुन्दर बीरगञ्ज, आर्थिक सम्भावनाको प्रचुर आधार बोकेको बीरगञ्ज । विकासको क्रमलाई गति दिने पर्खाइमा बसेको बीरगञ्ज । विकासको गन्तव्यमा पुग्न सबल नेतृत्वको पर्खाइमा बसेको बीरगञ्ज । बीरगञ्ज तथा बीरगञ्जका नगरवासी कहिले त्यो उज्जवल भविष्य प्राप्त होला भनी आशमा पर्खिरहेको अझै पनि पाइन्छ ।

यस्तो उज्जवल आशा बोकेको बीरगञ्जलाई कहिले अशक्षम नेतृत्व पंक्तिले ठग्यो त कहिले बीरगञ्जको फोहरी राजनीतिक्रमले । नेपाल पटकपटक आफ्नो केचुली फेर्यो तर सक्षम र विकासमूखी नेतृत्व बीरगञ्जले प्राप्त गर्न सकेन । प्रजातन्त्रका सुनौली विहानीसंगै बीरगञ्ज नगरको नेतृत्वले पनि फेरिसकेको नायकका रुपमा तत्कालिन मेयर माधवलाल श्रेष्ठ, उपमेयरमा अजय द्विवेदीले सारथीको रुपमा बीरगञ्जको बागडोर सम्हाल्नुभयो तर पनि बीरगञ्जका जनताले विकाशको कुनै पनि त्यसको सुखद अनुभव प्राप्त गर्न सकेनन् । त्यसको मूख्य कारण आपसी समझदारीको कमि थियो । परिणाम बीरगञ्जले भोग्यो ।

देशमा ठूलै राजनीतिक उथलपुथल पनि भयो परिणामस्वरुप देशमा लोकतान्त्रिक गणतन्त्र पनि आयो । जनतामा पुनः आशाको पालुवा पलाउन थाल्यो । हाम्रो बीरगञ्जले पनि विकासको फड्को मार्छ होला र हामी पनि विकसित बीरगञ्जको नागरिक बन्ने छौं भनी पर्खाइमा बीरगञ्ज केही समय विकासको कुनै गतिविधि बिना नै वस्यो । त्यो अस्थिर समयमा नगरपालिकाको वागडोर सरकारी कर्मचारीहरुले सम्हाले । विकाशको क्रमले गति लिन सकेन किनकी नगर जनप्रतिनिधि नेतृत्वविहिन थियो ।

तर समयको केही अन्तराल पछि देशले नयाँ संविधान पायो र आफ्नो फरक फरक नीति तयार गर्यो जुन नीतिको विरुद्ध मधेशमा मधेश आन्दोलन पनि चर्कियो, जसको तापले गर्दा सरकार झुक्यो । परिणामस्वरुप मधेशमा मधेश सम्बन्धि विभिन्न नीति नियमहरु निर्माण भए । यसले मधेश र मधेशी जनताको आवाज बुलन्द गर्नुका साथै मधेश विकाशका अनेकौ बाटाहरु खुल्यो । मधेशमा रहेका जनताहरु निकै उत्साहित र सुखि भए ।

मधेशमा नेतृत्व गर्ने नेताहरु पटक पटक सत्तामा पुगे, मन्त्री बने, विदेश भ्रमण गरे तर मधेश जहाको त्यहि रहयो । न मधेशी जनताले चाहे अनुरुप आफ्नो जीवनस्तर उकास्न सके, न त देखिने खालको कुनै ठोस विकाश नै भयो । जब मधेशी नेताहरुको स्वार्थ पुरा भएन तब फेरि केही मधेशी नेताहरुकै नेतृत्वमा लामो विध्वंश आन्दोलन भयो र केन्द्रविन्दु वन्यो बीरगञ्ज । मधेशी नेताहरुले नै आफूले चाहेको जस्तै मधेशलाई प्रयोग गरे, आन्दोलनको नाममा भौतिक सम्पत्तिहरुको पनि विनास गरियो र आन्दोलनकै क्रममा प्रहरीको गोलि लागी धेरैले आफ्नो ज्यान पनि गुमाए । छ महिना लामो आन्दोलन चल्यो, बीरगञ्ज र बीरगञ्जका जनताले दुःख पाउनु सम्म पाए तर पनि मधेशी र मधेशको विकाश हुन्छ, हाम्रो ओठमा पनि मुस्कान आउछ भनेरै त्यो कठोर संर्घषको दिनलाई पनि हामी सहेर आत्मसाथ गर्यो र विकाशको पर्खाइमा बस्यौं । त्यो लामो आन्दोलनको क्रममा बीरगञ्जले एउटा जोशिला, फुर्तिला, आफ्नो बोलिले जनताको मन जित्न सक्ने नेताको रुपमा प्रदिप यादवलाई पायो जुन अहिले सांसद पनि छन् ।

जनताको भावना विपरित हाम्रा केन्द्रिय स्तरका नेताज्यूहरुले सिंगो देशलाई विभिन्न ७ चिरामा चिर्नु भयो र नाम दिइयो संघियता, नाम दिने क्रममा हामी मधेशवासी २ नम्बर प्रदेशका वासी भयौ । अव देशमा स्थानिय चुनाव पनि भयो । हाम्रो बीरगञ्जको विकाशको गतिले पनि फड्को मार्ने भयो भनी बीरगञ्जका नगरवासीहरुले आशा गर्न थाले । किन न गरुन् ? मधेश आन्दोलनमा त्यस्तो वलिदान र संर्घष जो गरेका थिए । त्यो मधेशको केन्द्रविन्दु रहेको बीरगञ्ज बाटै मधेशका महानायकको रुपमा चिनिन्दै गएका व्यक्तित्व प्रदिप यादवको नाम नै अगाडि आएको थियो ।

नगर विकासको चिन्ता गर्नु पाप हो र ?

बीरगञ्जको विकाशक्रमलाई तिव्रता दिन विभिन्न राजनीतिक दलहरु बीच होडबाजी चलिरहेको बेला बीरगञ्जले एउटा बलियो, विश्वासिलो र भरपर्दो काँध खोज्दै थियो । जुन काँधमा सवार भएर वर्षौ देखि रोकिएका विकासका गतिविधिहरुलाई सफलतापूर्वक निकास दिन सकियोस् । राजनीतिक खिचातानिको क्रममा कांग्रेसबाट अजय द्विवेदीको नाम प्रस्तावित गरियो जसलाई जनताले एक पटक परिक्षण गरिसकेका थिए । माओवादीबाट रोहवर अंसारीलाई प्रस्तावित गरियो जो एक पढेलेखेका र युवाहरुको विचमा केहि समय निकै लोकप्रिय पनि रहे । राजपाबाट युवा नेताको रुपमा परिचित राजेशमान सिंहको नाम प्रस्ताव गरियो । त्यस्तै विजय गच्छेदार समूहबाट विमल श्रीवास्तवलाई प्रस्ताव गरियो जसलाई जनताले पटकपटक परीक्षण गरिसकेका थिए । साच्चै भन्ने हो भने यस्ता दिग्गज नेताहरुबाट अबको दिनमा चुनाव पश्चात बीरगञ्जमा विकाशका केही नमूनाहरु निश्चित पनि देखिन्छ जसमाथि बीरगञ्जका नगरवासीले केही मात्रामा भएपनि गर्व गर्न सक्छन् भनी ठूलो आश जागेकै हो ।

विजय सरावगी, लालवाबु राउत गद्दी र प्रदिप यादव बीच किन लडाइ ?

संघिय समाजवादीको तर्फबाट लालबाबु गद्दीले भने चुनावि लडाइमा म पनि सामेल भएर लड्छु भन्ने आफ्नो तिव्र इच्छा देखाउनु भएको थियो । त्यतिवेला वहाँ पार्टिको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो तर प्रदिप यादवको अगाडि वहाँको कुनै दाल गलेन र राजनीतिमा शुन्य ज्ञान भएका व्यक्ति तर व्यापारमा कुशल समय चिन्न सक्ने व्यापारीक संगठनका विभिन्न पदमा आसिन्न भइसकेका, पढेलेखेका र वित्तिय संघसंस्थामा पनि आफ्नो सफल भूमिका निर्वाह गरिसकेका व्यक्ति विजय सरावगीलाई वहाले नै प्रस्तुत गर्नु भएको हो । पाटीमा विभिन्न हलचल भए ता पनि प्रदिप यादवको अगाडि कसैको केही लागेन र विजय सरावगीले मेयरको टिकट पाउने निश्चित भयो । लालबाबु गद्दी मेयरको टिकटबाट वञ्चित हुनुभयो ।

विजय सरावगीले कसरी बाजि मारे ?

चुनाव नजिक आयो । अरुको पत्ता साफ गरेर पार्टिबाट टिकट पाइसकेका विजय सरावगीले पनि निकै जोशजा“गरका साथ चुनाव लड्नुका साथै विकासको तिव्रतालाई निकै जोड देखाउनु भयो । विकासको कुरा गरेर युवाहरुको मन र मत जित्नु भयो । चुनावी रणनीतिका रुपमा आफ्नो प्रतिवद्धता ‘कसम’ बुकलेट ल्याई जनतालाई विश्वास दिलाए । पैसाको कमि नभएको र लोभ लालच नभएका एउटा मारवाडी समाजबाट आएका व्यापारी घरानाका व्यक्तिले चुनाव जिते राम्रै विकास होला भनी बीरगञ्जका जनताले विश्वास गरे जसको परिणामस्वरुप भारी वहुमतले सरावगी विजयी पनि भए । त्यही क्रममा लालबाबु गद्दीले विधायकमा जितेर प्रदेश नम्बर २ का मुख्यमन्त्री सम्म बने । प्रदिप यादवले जितेर सभासद् बने । मधेश केन्द्रित नेताहरु बहुमतले जितेपछि अब सिड्डो मधेशका साथै र बीरगञ्जको विकाश पनि निश्चित हुन्छ भनी जनताहरु खुशियालि मनाएका थिए ।

साढेको लडाइमा वाछाको मिचाइः

विसंतति हेर्नुस् आज यी सबै त्रिशक्ति विशुद्ध वीरञ्जका नेताको रुपमा रहेर पनि बीरगञ्जको चिरहरण गर्दैछन् । तीनवटै नेताहरुले एक अर्कालाई, ‘देखाइ दिने । सबक सिखाइ दिने ।’ जस्ता कठोर शब्दले सञ्चारमाध्यम छताछुल्ल भएको छ । विजय सरावगीबाट विभिन्न रेडियो अन्र्तवार्तामा आउछ, ‘म कस्तो वेकार पाटीमा आएँ । म राजिनामा दिन मिल्ने भए आजै राजिनामा दिन्छु । म पार्टिको नेता होइन । म पार्टिबाट सञ्चालित हुँदिन । म पार्टिको कुरा मान्दिन । म जनताको नेता हुँ । म जनताको कुरा मान्छु । पार्टिका कुनै अगुवा नेताले मलाई सहयोग गरेनन् । आदि इत्यादि ।’

जनताको भारि मतले विजयी बनेका एउटा नेताबाट आफ्नै पार्टिको बारेमा जथाभावि यस्तो गम्भिर वकतव्य दिंदै हिड्ने तर पार्टिको अनुशासन समितिले कुनै किसिमको कारवाहि गर्न नसक्नुले पनि पार्टिको छवि आज धमिलिएको छ जसको परिणाम आउँदोचुनावमा सजिलै देखिन्छ होला ।

भोट दिएकोमा पछुतो ?

धेरै कुरा वहाँले रेडिया अन्र्तवार्तामा भनेको सुनियो । यो सुन्दा आफूलाई हिनता वोध हुन्छ कि हामीले कस्ता नेतृत्वलाई छान्यौं । कतै हामीले गलति त गरेनौं नि ? अव यस्तो महामारीको बेलामा बीरगञ्जको अवस्था के हुने हो ? भन्ने कुराको डर लाग्न थाल्यो जुन स्वभाविक पनि हो । तर खुशीको एउटा खबर आयो कि गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा स्थापना गरियो । स्वास्थ मन्त्रालयको परिपत्र फेसबुकमा छरप्रष्ट गरियो । मेयर साहेबलाई सबैले बधाई पनि दिए तर एकाएक खबर आउछ कि गण्डक अस्पताललाई हाललाई रोकियो । रोक्नेमा प्रदेश नं. २ का मुख्यमन्त्रि उही लालबाबु राउत गद्दीको खलनायक भूमिका छ रे ।

सांसद प्रदिप यादवको कुरो ।

समाजवादी पार्टी नेपालबाट पर्सा जिल्ला क्षेत्र न. १ का सांसद प्रदिप यादवको अन्तरवार्तामा सुनिन्छ कि ‘हामी कसैसँग सहकार्य नगरी मेयर साहेब एक्लैले मनपरि गरेका हुन् । कानुनसम्वत नभएर कोरोना अस्पताल रोकिएको हो । वहाँले सबैलाई पाखा लगाउदै एक्लै यत्रो ठूलो काम गर्न खोजेको हो जसको परिणाम बीरगञ्जले भोगिरहेको छ । पार्टिको नीति र सिद्धान्त विपरित सरावगीले आफूखुशी जे मन लाग्यो गरिरहनु भएको छ । बीरगञ्जका पत्रकार साथीहरुलाई प्रेस सल्लाहकार नबनाई चितवनबाट ल्याइएको छ । ठूला–ठूला कार्ययोजनाका ठेक्कापट्टा चितवनको इशारामा गरिन्छ ।’ भन्ने जस्ता गम्भिर आरोप प्रत्यारोपका कुराहरु पनि रेडियो अन्र्तवार्तामा सुनियो ।

उता पछिल्लो अन्र्तवार्तामा विजय सरावगीले ‘बीरगञ्ज कोरोना महामारीको मुख्य केन्द्रविन्दु बन्छ । यहाँ ५ हजार भन्दा बढी मान्छे संक्रमित हुनसक्छन् । मलाई कसैले पनि सहयोग गरेन । कसैले तालमेल गर्न चाहेन । सबैले मनपरि गर्यो । म एक्लै के गर्न सक्छु ?’ आदि इत्यादी वहाँले पनि भन्दै गरेको सबैलाई थाहा नै छ होला ।

जुँगाको लडाइमा बीरगञ्ज बन्धक बस्नुपर्ने ?

बीरगञ्जलाई वहाँहरुको लडाइको वन्धक बनाउन खोजेको देखियो । वहाहरुको आपसी लडाइ हेर्ने दर्शक बन्ने भए त बीरगञ्जवासीहरु । जुन विजय सरावगीलाई टिकट दिलाउनुका साथै विजयी बनाउन दिनरात एक गरे प्रदिप यादवले, आज त्यही मान्छेको विरुद्ध आखिरमा किन आगो ओक्लदै छन् त ?

मुख्यमन्त्रि लालबाबु राउत गद्दी, प्रदेश न. २

यहि पर्सा जिल्लाका लालबाबु राउत गद्दीले प्रदेश नम्बर २ का मुख्यमन्त्रि जस्तो गरिमामय पदमा आसिन हुने मौका पाउनु भयो तर बीरगञ्जमा यत्रो ठूलो विपद आएको बेला वहाँको भूमिका पनि एकदमै नगन्यरुपमा देखिएको बीरगञ्जवासीले दुखेसो पोख्ने गर्नु स्वभाविक हो । भविष्यमा शायदै पर्सा जिल्लाबाट कोहि मुख्यमन्त्रि बन्ने सौभाग्य पाउला । जिल्लावासी लगायतले मुख्यमन्त्रिज्यूको बीरगञ्ज र पर्सा जिल्लाप्रतिको विकास कार्यप्रतिको योगदानलाई नजिकबाट नियालिरहेका छन् र आउने दिनमा त्यसको मुल्याङ्कन पनि अवश्य गर्नेछन् ।

अन्त्यमा मेयर विजय सरावगीलाई एउटा सल्लाहः

बीरगञ्जवासी र भाइचाराका नाताले मेयर विजय सरावगीलाई एउटा खबरदारी गर्दै एउटा सल्लाह दिन चाहन्छु कि तपाई आफै राजनीतिमा लागेर चुनाव जित्दै नगर र जनताको अविरल सेवा गर्छु भनी जित्नु भएको हो । कोरोना भाइरसको माहामारी चलेको यस्तो समयमा बीचमा आएर तपाईले धोखा दिन मिल्दैन । बीरगञ्जवासीसँग विश्वासघात गर्न मिल्दैन । तपाईले नै जारी गरेको प्रतिवद्धताको किताव ‘कसम’ जनताको घर घरमा छ । जताले तपाईलाई सवाल गदै छन् कि यदि बीरगञ्जमा कुनै पनि ठूलो नोक्सानी भएमा नगर प्रमुखको हैसियतले त्यो सम्पूर्ण कुराको जिम्मेवारी कसको हुन्छ ? जसले जे भने पनि त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको काँधमा नै जान्छ ।

मुख्यमन्त्रि लालबाबु राउत गद्दी र प्रदिप यादव जस्ता सांसदले त बीरगञ्ज मात्र होइन धेरै चिज हेर्नुपर्छ । नगरको सुखदुख हेर्न र विकास गर्न नगर प्रमुखको रुपमा तपाईलाई मात्र बीरगञ्जवासीले बहुमत दिएका छन् । कोरोनाको संक्रमण रोक्न, विरामीको उचित उपचार र अन्य विरामीको व्यवस्थापन गर्न, चिकित्सक, प्रहरी, औषधी, खाधान्न पदार्थ आदिको सहजिकरण गर्न तपाईको भूमिका अहम, उदाहरणयोग्य र इतिहासले सम्झिरहने खालको हुनुपर्छ । आफ्नो असहायपन देखाई जनतालाई निरास र हतोत्साहित बनाउनुका साथै कुनै अप्रिय घटना पश्चात तपाईमाथि आउने सम्भावित दोषारोपन हुने खालको अन्र्तवार्ता बाट बच्नुहोस् । बीरगञ्जका जनता अझै तपाईको साथमा छ । आफू भित्र रहेको सबै ज्ञान, शिक्षा, अनुभव, शक्ति र बुद्धिले तपाईले नै कुनै चमत्कार गर्नुहुन्छ भनी बीरगञ्जवासीहरु पर्खेर बसेका छन् ।

 

– सुशिल भट्टराई, ठाराव क्याम्पस, बीरगञ्जका प्राध्यापक पनि हुनुहुन्छ ।

copy :-papularsy.com

तपाईंको प्रतिकृयाहरू