आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

खाद्यको सहुलियत पसलमा चामल छैन, पहिलो पाँच दिन मै चामल सकियो

  पटक पढिएको

२०८०, २६ आश्विन शुक्रबार ११:२८ मा प्रकाशित

वीरगञ्ज, असोज २६ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले कार्यालय परिसरमा असोज २१ गतेबाट सञ्चालनमा ल्याएको सहुलियत मुल्य पसलमा पहिलो पाँच दिन मै अरुवा सोना मन्सुली चामल सकिएको छ ।
खाद्यको वीरगञ्ज स्थित शाखामा अरुवा सोना मन्सुली चामलको मौज्दात कम रहेकाले कार्यालयले सञ्चालनमा ल्याएको सहुलियत मुल्य पसलमा अरुवा सोना मन्सुली चामल सकिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जका सुचना अधिकारी समिर दाहालका अनुसार वीरगञ्ज , गौर , भिमफेदी , र चितवन कारगारमा दिन चाहिने जति अरुवा सोना मन्सुली चामल मात्र मौज्दात रहेकाले पहिलो पाँचै दिनमा सहुलियत मुल्यमा बिक्री गर्ने चामल सकिएको हो ।
असोज २१ गते देखि मंसीर ०३ गतेसम्म सुपथ मुल्यमा चामल बिक्रि गरी आम जनतालाई सेवा दिने उदेश्यले खाद्यले सञ्चालनमा ल्याएको सहुलियत पसलमा पहिलो पाँच दिनमा अरुवा सोना मन्सुली चामल सकिएपछि चामल किन्न पुगेका सेवाग्राही रित्तो हात फर्किएका छन् ।
बजारमा ५० देखि ६० रुपियाँ प्रति केजीमा पाईने अरुवा सोना मन्सुली चामल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले साविक मुल्य ५० रुपियाँमा प्रतिकेजी ७ रुपियाँ सहुलियत दिई प्रतिकेजी ४३ रुपियाँमा बिक्री गर्दै आएको छ ।
बितेको वर्ष असोज १ गते देखि माघ १ गते सम्म खाद्यको वीरगञ्ज शाखाले सञ्चालन गरेको सहुलियत पसलबाट सबैभन्दा बढी बिक्री भएको अरुवा सोना मन्सुली चामल यस वर्ष भने मौज्दात कम भएकाले पहिलो पाँच दिन नै सकिएको कार्यालयको सहुलियत पसल फाँटकी कर्मचारी ईन्दु पौडेलले बताउनु भयो ।
पहिलो दिन १ जना सेवा ग्राहीले २५ केजी , दोश्रो दिन २ जना सेवाग्राहीले ५० केजी , तेश्रो दिन २ जना सेवाग्राहीले ५० केजी र पाँचौ दिन ५ जना सेवाग्राहीले १ क्वीन्टल २५ केजी चामल खरिद गरेर लगेपनि खाद्यमा मौज्दात रहेको २ क्वीन्टल ५० केजी अरुवा सोना मन्सुली चामल सकिएको पौडेलले जानकारी दिनु भयो ।्
बितेको वर्षको सहुलियत पसलबाट ४ हजार ८ सय ३० केजी अरुवा सोना मन्सुली चामल बिक्री भएको तथ्याङ्क देखाउदै उहाँले यसपाली सहुलियत दरमा बेच्ने अरुवा सोना मन्सुली चामल ज्यादै कम रहेकाले सुरु मै सकिएका जनाउनु भयो ।
अहिले खाद्यको वीरगञ्ज स्थित कार्यालयले सहुलियत पसलमा स्टीम जिरा मनिसो चामल र अरुवा सोना मन्सुली चामल बिक्री गर्दै आएको छ । साविक मुल्य ८४ रुपियाँ प्रतिकिलोमा ७ रुपियाँ छुट दिदै ७७ रुपियाँ प्रतिकिलोमा खाद्यले बिक्रि गरिरहेको स्टीम जिरा मनिसो चामल भने पहिलो पाँच दिनमा ५ क्वीन्टल २५ केजी बिक्रि भएको सहुलियत पसल फाँटकी कर्मचारी पौडेलले बताउनु भयो ।
बितेको वर्षको खाद्यको यस सहुलियत पसलबाट ३ हजार २५ केजी स्टीम जिरा मनिसो चामल बिक्री भएको थियो । २५ केजीका बोरा र एक जना सेवाग्राहीले २ बोरासम्म मात्र खरिद गर्न पाउने व्यवस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले गरेको छ ।
खाद्यको सहुलियत पसल अनि त्यहा पाईने चामलको मुल्यको प्रचार प्रसार नहुदाँ धेरै सेवाग्राहीले सेवा लिन पाएका छैनन भने सोना मन्सुली चामल किन्न आउने निम्न वर्गिय परिवारका सेवाग्राही चामल सकिएकाले रित्तो हात फर्किन बाध्य भएका छन् ।
दशै पछि थप चामलका लागि टेन्डर गरिने र चामल आईपुग्ने , दशै पछि चामल मात्र नभई दाल समेत बिक्रीका लागि राखिने सुचना अधिकार दाहालले बताउनु भयो ।

तपाईंको प्रतिकृयाहरू