शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

जि.एच.पी. माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी सम्पन्न

  पटक पढिएको

२०८०, २६ फाल्गुन शनिबार १९:१२ मा प्रकाशित

दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २६ गते ।
वीरगञ्जको श्रीपुरमा रहेको जि.एच.पी. माध्यामिक विद्यालयमा शनिबार विज्ञान तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।
जिएचपी माध्यामिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएका बिभिन्न उपकरणहरु , विभिन्न सामग्रीहरु तथा चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

विद्यालय परिसरमा आयोजित विज्ञान तथा चित्रकला प्रदर्शनीमा विद्यार्थीहरुले सोलार सिस्टम, वातावरणमैत्री शहर, औद्योगिक कोरिडोर, विद्युतीय साईकल, भूकम्प प्रतिरोधात्मक संरचनाको नमुना , फोहरबाट विद्युत उत्पादन , दैनिक जीवनयापनमा प्रयोगमा आउने बिभिन्न सामग्रीहरु निर्माण गरी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा पुग्नु भएका वीरगञ्ज महानगर पालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत हरी राउतले यस्ता प्रदर्शनीहरुले विद्यार्थीहरुको विज्ञानप्रति रुचि बढाउने र सिर्जनशिलता बढने बताउदै समय समयमा यस्ता कार्यक्रमहरु विद्यालयले गरी राख्नुपर्ने धारणा राख्नुभयो ।

उक्त विज्ञान तथा चित्रकला प्रदर्शनी हेर्न पुग्नु भएका अभिभावक तथा अतिथिहरुलाई विद्यार्थीहरुले आ—आफ्नो सामग्रीको निर्माण प्रक्रिया तथा त्यसको उपयोगका बारेमा बताई रहेको देखिन्थ्यो ।
विद्यालयका प्रशासन प्रमुख एंव विज्ञान शिक्षक रोशनप्रसाद साहले विद्यार्थीहरुले करिब एक महिनादेखि यस प्रदर्शनीका लागि सामान जुटाएर बिभिन्न सामग्री निर्माण कार्यमा लागेको जानकारी दिनुभयो ।
विद्यालयका संयोजक राजेश थापाका अनुसार उक्त विज्ञान तथा चित्रकला प्रदर्शनीको मुख्य आकर्षक विद्यार्थीहरुले निर्माण गरेको ईलेक्ट्रोनिक साईकल बनेको थियो भने १२ सय विद्यार्थीहरु मिलेर निर्माण गरेका १५० वटा बिभिन्न आविष्कार र १ सय वटा चित्र उक्त विज्ञान तथा चित्रकला प्रदर्शनीमा राखिएको थियो ।

विद्यालयका निर्देशक ज्याक सिंहले विद्यार्थीहरुको उत्साहपूणर् सहभागिता तथा अभिभावकहरुको उपस्थितीले विद्यालयलाई यस्ता अतिरिक्त क्रियाकलाप आयोजना गर्न हौस्याएको बताउनु भयो ।
कार्यक्रमस्थलमा पुगी प्रदर्शनीमा राखिएका सामग्री हेर्दै गर्नुभएकी भूतपुर्व कृषि राज्यमन्त्री एंव पूर्वसाँसद करिमा बेगमले विद्यार्थीले धेरै मिहिनेतगरी सामग्री बनाएको बताउदै प्रदर्शनीको प्रशंसा गर्नुभएको थियो ।
प्रधानाध्यापिका रमिन्दर कौरले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत करिब १२ सय विद्यार्थीहरु प्रदर्शनीमा सहभागी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न किसिमका चित्रकलाको प्रदर्शनी समेत राखिएको थियो । प्रदर्शनीको समाजसेवी पशुपति विक्रम शाह, ऊषा शाह, यात्रा डेलीका राम सर्राफ , प्रेस सेन्टर नेपाल मधेस प्रदेशका सचिव मुनेसलायोमगर , प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम , ज्योती अनलाईन टिभीका राजेन्द्र सिंह , कृष्णा कुशवाह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी एवम् अभिभावकले अवलोकन गर्नुभएको थियो ।


तपाईंको प्रतिकृयाहरू