आइतबार, २३ बैशाख २०८१   |   May 5 Sun, 2024

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

  पटक पढिएको

२०७५, २६ आश्विन शुक्रबार ११:२५ मा प्रकाशित

काएरो, २५ असोज (रासस/एएफपी) : इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो ।

 

इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ ।

 

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार काएरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो । सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन काएरोको मुख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो ।

 

त्यसैगरी त्यही बर्षको अप्रिलमा ‘पाल्म सण्डे’ मनाउन भेला भएकाहरूलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रीयामा ४५ जना मारिएका थिए । इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरूले प्रार्थना गर्ने चर्चहरूमा बेला बेलामा आइएस लडाकूहरूले आक्रमहरू गर्ने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू