आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री

चितवन, भदौ ५ गते ।

  पटक पढिएको

२०८०, ५ भाद्र मंगलवार १९:२६ मा प्रकाशित
मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
चितवन, भदौ ५ गते ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सब-स्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्नुहुँदै उहाँले तालमेलकै कारण विद्युतीकरणमा नेपालले फड्को मार्न सकेको बताउनुभएको हो ।

सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्यास इन्सुलेटेड सब-स्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सब-स्टेसनको समेत उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालको जलविद्युतको क्षमता राम्रो भएको उल्लेख गर्नुहुँदै यसलाई व्यवस्थित ढङ्गबाट उत्पादन गर्नेमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन, प्रसारण र वितरण गरी तीनवटै कुराको बीचमा उचित तालमेल भएन भने अपेक्षा गरे अनुसारको नतिजा प्राप्त गर्न सकिँदैन ।” उत्पादन मात्रै गरेर नपुग्ने भन्दै प्रधानमन्त्रीले उत्पादन अनुसारका प्रसारण लाइन निर्माण गर्नुपर्ने बताउनुभयो ।

लामो समयदेखि विद्युत् उत्पादनमा मन्दी रहेको उल्लेख गर्नुहुँदै उहाँले पछिल्लो समय त्यसमा तीव्रता आएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन क्षमता वृद्धि भएको छ, प्रसारण लाइनको काम पनि निकै अघि बढेको छ ।” देशभित्रै गुणस्तरीय ढङ्गले विद्युत खपत बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले प्राविधिक रूपमा देखिएका समस्याहरू समाधान गर्दै जानुपर्ने बताउनुभयो ।

बढी भएको विद्युतलाई अन्तर्देशीय व्यापार गरेर नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार गर्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारतसँग अन्तर्देशीय प्रसारण लाइनहरू पूर्व, मध्य र पश्चिम सबैतिर बन्दै गइरहेका छन् ।” यसले गर्दा हामीलाई चाहिएको समयमा लिने र धेरै भएको बेला बेच्ने दुवै काम गर्न सहज भएको उहाँले बताउनुभयो ।

भारत भ्रमणको समयमा देश हजार मेगावाट १० वर्षभित्रमा व्यापार गर्ने सम्झौता भएको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले प्रारम्भिक हस्ताक्षरसमेत भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा समारोहका साथ घोषणा गर्ने तयारी भइरहेको छ ।” विगत लामो समयदेखि प्रतीक्षा गरिरहेको बङ्गलादेशसँग विद्युत व्यापारको विषय अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलो पटक नेपाल, भारत र बङ्गलादेशबीचमा त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेको छ । अब नेपालको विद्युत बङ्गलादेश पठाउने बाटो खुलेको छ ।”

एकातिर देशभित्रै बढी विद्युत खपत गर्ने र अर्कोतर्फ निर्यात गरेर आर्थिक समृद्धि ल्याउनेमा सरकार लागेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । चीनतिर पनि विद्युत व्यापार गर्नका लागि अन्तर्देशीय प्रसारण लाइन बन्ने तयारीमा रहेको उहाँको भनाइ छ । बूढीगण्डकीको छिट्टै शिलान्यास गरिने उल्लेख गर्नुहुँदै उहाँले कर्णाली चिसापानीको १० हजार आठ सय मेगावाटको एउटै परियोजनाको अध्ययन विद्युत प्राधिकरणमार्फत अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उत्पादनको क्षेत्रमा जसरी वृद्धि हुँदै गइरहेको छ सोही अनुसार पारवहन गर्न सक्ने प्रसारण लाइनको विकास र विस्तार गर्ने बताउनुभयो । आन्तरिक खपतमा हुँदै गइरहेको वृद्धिलाई व्यवस्थित वितरण गरिने उहाँको भनाइ थियो ।

बढी भएको विद्युतलाई बिक्री गर्ने गरी एकीकृत योजना बनाएर अघि बढिरहेको मन्त्री बस्नेतले बताउनुभयो । तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर काम गरिरहेको उहाँले बताउनुभयो । विद्युतमा अहिले देखिएका समस्या समाधान गरेर आफू अघि बढिरहेको र आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो ।

‘समृद्धि, विकास र स्वच्छ वातावरणका लागि ऊर्जा’ भन्ने मान्यताका साथ काम भइरहेको उहाँको भनाइ छ । समग्र अर्थतन्त्र र विकासका लागि ऊर्जा क्षेत्र महत्त्वपूर्ण रहेको मन्त्री बस्नेतले बताउनुभयो । उहाँले आन्तरिक खपतसँगै निर्यातलाई प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले यो प्रसारण लाइन र सब-स्टेसनबाट नेपालको पूर्व तथा पश्चिम विद्युतीकरणका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । सरकारले आन्तरिक खपतसँगै विदेश निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रमा प्रधानमन्त्री प्रचण्डले देखाउनुभएको प्रत्यक्ष चासोका कारण सफलता मिलिरहेको बताउनुभयो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैङ्क (इआइबी)को सहुलियतपूर्ण ऋणमा सब-स्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

उद्घाटन गरिएको हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइनको लम्बाइ करिब एक सय ४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौँडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सब-स्टेसनबाट नयाँ भरतपुर सब-स्टेसनसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई एक सय ३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सब-स्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सब-स्टेसमा अन्त्य हुने ७४ किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा सञ्चालन ल्याइएको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आइकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्त्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ ‘टेन्डर’ गरेको थियो । विसं २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो ।

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।

तपाईंको प्रतिकृयाहरू