सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

सम्झनामा पूर्ण पौडेल

रमेश मल्ल अखिल क्रान्तिकारी पुर्ब अध्यक्ष् तथा नेकपा युवा नेता

  पटक पढिएको

२०७७, १३ बैशाख शनिबार ११:१० मा प्रकाशित
सर्वहारावर्गका पथप्रर्दशक कार्लमाक्र्सको भनाईमा मानव जातिको सम्पुर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो। जुन समय देखि समाजमा वर्गविभाजनको अवस्था आयो र एकवर्गले अर्कोवर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि शुरु भयो। यसरी समाजमा वर्गीय, जातिय, क्षेत्रिय, लैंगिक लगायतका सबैखाले उत्पीडन र विभेदका विरुद्ध कहिँ न कहिँ संघर्ष चलिरहेको हुन्छ। र, संघर्ष नै मानवजातिको इतिहासको चालक शक्ति रहँदै आएको छ। मानव इतिहासमा प्रतिक्रियावादी शासकिय चिन्तन र प्रवृतिका विरुद्ध ठुला ठुला संघर्ष हुदै आएका छन। नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि पनि विगत इतिहासमा ठुल–ठुला गौरवमय क्रान्तिहरु सम्पन्न भएका छन, जसले समाजको अग्रगामी रुपान्तरणलाई निरन्तर दिशाबोध गरिरहेको छ। २००७ साल वरपरबाट शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनले ७० औं बर्ष पार गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पनि ७१ बर्ष पुरा भएको छ।
क्रान्ति र बलिदान एक आपसमा परिपुरक वा अन्यान्योश्रीत हुँदारहेछन। वलिदान विनाको क्रान्ति न त विश्व इतिहासमा कतै संभव भए न त नेपालको इतिहासमा नै सम्पन्न भए। नेपाली समाजमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध आमुल परिवर्तनको लागि शुरु भएको माओवादी जनयुद्धमा नेपाली जनताका हजारौं सर्वोत्तम छोराछोरीले आफुलाई सचेततापुर्वक वलिदान गरे। सयौं योद्धाहरु प्रतिक्रियावादी सत्ताद्धारा वेपत्ता बनाईए। हजारौं योद्धाहरु घाईते र अँगभँग भएर कष्टकर जीवन बिताईरहेका छन। जनयुद्धमा राज्यद्धारा वेपत्ता पारिएका योद्धाहरुको पंक्तिमा अखिल(क्रान्तिकारी)का तत्कालिन महासचिव पुर्ण पौडेलले पनि आफुलाई उभ्याउनु भयो। उहाँले सामन्ती तत्वका अघि झुक्न तयार हुनु भएन बरु वेपत्ता योद्धाको जीवन रोज्नु भयो।
आज बैसाख १३ गते, आजभन्दा १८ बर्ष अगाडि २०५९ बैसाख १३ गतेका दिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको ज्ञानेन्द्र शाहीको कठपुतली सरकारले उहाँलाई काठमाडौंबाट गिरप्तार गरि वेपत्ता पार्यो। जनयुद्ध दबाउने नाममा यो भन्दा पहिले पनि जनसाधारणहरुको हत्या, आतंक, आगजनी, बालकदेखि बृद्धसम्मको सामुहिक बलात्कार र हत्या, निहत्था नागरिक वेपत्ता पार्ने जस्ता जघन्य र आततायी अपराध त प्रतिक्रियावादीहरुले गरिरहेका थिए। ०५२ फागुन १४ गते प्रहरीको गोली लागि जनयुद्धको पहिलो शहिद गोरखाका ११ बर्षिय बालविद्यार्थी दिलबहादुर रम्तेल बन्न पुगेका थिए। ने.क.पा.(माओवादी)का केन्द्रीय सदस्य, बौद्धिक, वैचारिक तथा उदीयमान क्रान्तिकारी नेता क. दण्डपाणी न्यौपाने(दिपेन्द्र शर्मा)लाई २०५६ जेठ ७ गते काठमाडौंको टेबहालबाट गिरप्तार गरि वेपत्ता बनाएको थियो। तर ज्ञानेन्द्र शाहीको नेतृत्वमा संकटकाल घोषणा गरि शाही सेना परिचालन गरिसकेपछि जनदमन, हत्या आतंक र वेपत्ताको अझ विभत्स श्रृंखला अगाडि बढाईयो। माओवादीका विरुद्ध शाही सेनाको परिचालन प्रतिक्रियावादी सत्ताको अन्तिम अश्त्र थियो। उनीहरुले माओवादी समाप्त पार्न जुनसुकै अपराधका लागि पनि आफुलाई निवस्त्र रुपमा प्रस्तुत गरे। संगठनका तत्कालिन उपाध्यक्ष बेनोज अधिकारीलाई पुर्वी नेपालको मोरङमा गिरप्तार गरि चरम यातना दिएर २०५८ फागुन २४ गते खोर्साने जंगलमा लिएर दोहोरो भिडन्तको नाममा हत्या गरे। पश्चिम नेपालमा पुर्व उपाध्यक्ष ज्ञामप्रसाद चालिसेको हत्या गरियो। संगठनका केन्द्रीय सदस्यहरु रामबहादुर रायमाझी, जनम बराल, रिषि घिमिरे, नारायण शर्मा, टिकाराम गौतम, गणेश ढकाल, शंकर तमु, प्रितकुमार मोक्तान, कमल पौडेल, पसिन्द्र पटेल, बैकुण्ठ पोखरेल, सम्झना चौधरी, कमल पुन, पुर्व विद्यार्थी नेताहरु संयोजक कृष्णसेन इच्छुक, राममणी भट्टराई, लेखनाथ पौडेल, शरद अवस्थी, इश्वर ढुंगाना, नवराज शाही, सुनिता सापकोटा, विजय ढकाल, सुजित यादव लगायत सयौं नेताकार्यकर्ताको कायरतापुर्वक हत्या गरियो भने पुर्ण पौडेल लगायत विपीन भण्डारी, ज्ञानेन्द्र त्रिपाठी, गोकुल निरौला, दीपेन्द्र पन्त, सिएन ढुँगाना, नविन राई, दिलबहादुर राई, देवहरि रिजाल, निर्दल साह, कृष्ण चौधरी, जानकी चौधरी लगायत केन्द्रीय नेतृत्व र अरु सयौं योद्धाहरुलाई गिरप्तार गरि वेपत्ता पारियो। जनवादी शिक्षा प्राप्तिको आन्दोलनलाई आफ्नो अभिष्ट बनाएको अखिल(क्रान्तिकारी) र जनवादी राज्यसत्ता स्थापनार्थ विद्रोहको झण्डा बोकेका न्यायप्रेमी जनता र माओवादी क्रान्तिकारीहरुले जनयुद्धको दौरान वलिदानको अद्धितिय कोटा चुक्ता गरे। जो नेपालको राजनैतिक इतिहासमा स्वर्णिम अक्षरले रेखाँकीत भईसकेको छ।
नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको शिर्ष तहबाट वेपत्ता पारिने नेता पुर्ण पौडेल हुनुहुन्छ। उहाँको जन्म ०३१ कार्तिक ११ गते बुवा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट भएको थियो। ०४९ सालमा संगठनको कास्की जिल्ला अध्यक्ष हुनुभएका पुर्ण पौडेल ०५२मा सम्पन्न अनेरास्ववियू(क्रान्तिकारी)को तेह्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यका निर्वाचित हुनुभएको थियो। उहाँ २०५७ मा संगठनको केन्द्रीय महासचिव चयन भएर संगठनको उपत्यकाको काममा क्रियाशिल हुनुहुन्थ्यो भने ०५८ मा विराटनगरमा सम्पन्न एकताको १५ औं राष्ट्रिय सम्मेलनबाट पनि महासचिव नै निर्वाचित हुनुभयो। विराटनगर सम्मेलनमा तत्कालीन माले अखिलको ठुलो टिम कृष्ण केसीको नेतृत्वमा विद्रोह गरि अखिल(क्रान्तिकारी) मा एकता गर्न पुगेको थियो भने अखिलका अन्य घटकबाट पनि साथीहरुले विद्रोह गरि एकतामा सहभागी बन्नुभएको थियो। त्यसैले यो सम्मेलनलाई क्रान्तिकारीहरुको एकताको सम्मेलन भनिएको थियो।
मैले क. पुर्ण पौडेलसँग लामोसमय काम गर्न पाईनँ। विराटनगर सम्मेलनको उद्घोषक देखि बन्दसत्रको सञ्चालकसम्म भएर उहाँले गरेको वैचारिक तथा संगठनात्मक नेतृत्वबाट म लगायत सम्मेलनका प्रतिनिधिहरु उहाँको नेतृत्वप्रति नतमतस्क नै भएका थियौं। विराटनगरबाट काठमाडौं पुगेर आरआर क्याम्पसमा भएको घोषणासभा देखि केन्द्रीय समितिको बैठकसम्म गरेको गतिविधिले उहाँको भावि नेतृत्वप्रति हामी निश्चिन्त भैसकेका थियौं। कमरेड लेखनाथ न्यौपाने अहिले पनि भन्नुहुन्छ नेतृत्व भनेको आवश्यकता र आकस्मिकताको योग रहेछ। यदी पुर्ण पौडेल र वेनोज अधिकारी जीवित भएको भए म विद्यार्थी आन्दोलनमा नेता हुने संभावना नै हुने थिएन। म त ललीतपुर पार्टीको जिम्मा लिएर उपाध्यक्षबाट विदा हुनेमा ढुक्क थिएँ। जब पुर्वमा वेनोज शहिद हुनुभयो र उपत्यकामा पुर्ण वेपत्ता हुनुभयो, अनि म विद्यार्थीको रिक्तता चिर्न आईपुगेको हुँ। साँच्चै पुर्ण पौडेल एक सालिन र निर्भिक कमाण्डर थिए। उनको प्रभावशाली व्यक्तित्व, प्रखर भाषणकला, बलियो वैचारिक क्षमता, बैरी विरुद्धको आक्रामक अभिव्यक्तिशैली, वर्गप्रेम तथा वर्गीय राजनितिप्रतिको निष्ठापुर्ण प्रतिवद्धता उहाँका जीवनका परिचय हुन। सायद यही परिचय नै दुश्मनका लागि ठुलो खतरा बन्नुभयो र उहाँलाई हामीबिचबाट सदाका लागि वेपत्ता पारियो।
१५ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले(ललितपुर हात्तिवनमा सम्पन्न) कमाण्डस्तरिय प्रशिक्षणमार्फत योजना सम्प्रेषण गर्ने कार्यक्रम बनायो। पहिलो कार्यक्रम पश्चिम कमाण्डको दाङमा सम्पन्न गर्ने निश्चित भयो। केन्द्रीय कार्यालयको टिम प्रशिक्षणमा जाने भएकोले हामी सँगै पश्चिम जाने भयौं। सोही योजना अनुसार म पुर्ण दाईसँगै उहाँको कोठाँ गए। त्यतिबेला उहाँ सोह्रखुट्टे बस्नुहुँदोरहेछ। आस्था भाउजु पनि काठमाडौंमा हुनुहुन्थ्यो। सोह्रखुट्टेको तल दक्षिणी भागमा त्यतीबेलासम्म खेतका गराहरु थिए। विचमा भएका केही घरहरुमध्य एउटा घरमा हामी पुग्यौं, जहाँ उहाँको डेरा थियो। मेरो स्वास्थ्य त्यतिराम्रो थिएन। पिनासले सताईरहेको थियो। संकटकाल, हिउँदको चिसो, कञ्चनपुरको अर्जुनी र बाईसेविचुवाको जंगल तथा चुरेको फेदीको बासले मलाई पिनासले सताउन थालेको हो, जुन आजपर्यन्त दिर्घरोग बनेर बल्झीरहन्छ। बाजुरा मार्तडी, टाटे लगायत स्थानमा राष्ट्रिय सम्मेलनको प्रचार सकेर, भाद्र २७ गते बझाङ सदरमुकाम चैनपुरको जनसभालाई सम्वोधन गरेर, कैलाली हुँदै राप्तीका प्रतिनिधिहरुसँग भेट गरि विराटनगर पुग्दा थुप्रै दौडधुप भएको थियो। विराटनगर सम्मेलनको अनिद्रा र थकान, काठमाडौंको चिसो वातावरणसम्म आउँदा स्वास्थ्य प्रतिकुल बन्न पुग्यो। पुर्ण दाईले पानी उमालेर वाफ लिन लाउनु भयो। तातोपानी पिउने सल्लाह दिनु भयो र पिनासको औषधी ल्याईदिनु भयो। त्यसले मेरो पश्चिम नेपालको यात्रामा सहजता थप्यो। अहिले पनि मलाई उहाँहरुको आतिथ्यता, कार्यकर्ताप्रतिको नेतृत्वको लगाव तथा अभिभावकीय भुमीकाले सधैं उद्धेलित बनाईरहन्छ।
संगठनका अध्यक्ष देबेन्द्र पराजुली, महासचिव पुर्ण पौडेलसँगै हामी दाङ पुग्यौं। दुई दिन हाम्रो बसाई दाङमा भयो। जनमुक्ति सेनाको एउटा टुकडीले कार्यक्रमको सुरक्षा र व्यवस्थापनको जिम्मा लिएको थियो। संयोगले यो टुकडीको नेतृत्व दाजु क. संघर्षले गर्नुभएको थियो। पुर्ण दाई र संघर्ष दाईको बिचमा मैले परिचय आदानप्रदान गराएँ। पुर्ण दाईले युद्धका अनुभवहरुबारे संघर्ष दाईसँग वार्तालाप गर्नुभयो। हामी कार्यक्रम सकेर लमहीसम्मको लागि सँगै निस्कने भनेर हिड्यौं। साथमा पश्चिमतिरका सबै नेतृत्वको साथीहरु हुनुहुन्थ्यो। भेरी कर्णाली क्षेत्रका संयोजक रामदिप आचार्य, सेती महाकाली क्षेत्रका संयोजक जनम बराल, रिषि घिमिरे लगायतका कमरेडहरु। लमहीको माथिल्लो डाडाँ, जहाँबाट हामी विदाईका हात मिलायौं। उहाँहरु पुर्व(उपत्यका)का लागि प्रस्थान गर्नुभयो भने हामी पश्चिमको लागि। देशमा राजनैतिक संकट नजिक देखिन्थ्यो किनकी प्रतिक्रियावादी शक्ति वार्तामा संविधानसभाको माओवादी प्रस्तावलाई लत्याउने र माओवादीलाई आत्मासर्मपण गराउने षडयन्त्रमा थिए। माओवादी भने शान्तिवार्ताको समयलाई सदुपयोग गर्दै देशव्यापी रुपमा चार तयारीको कामलाई अघि बढाएको थियो। हामी निकट प्रतिरोध युद्धमा आफुलाई तयार गर्ने योजना सम्प्रेशनमा लागेका थियौं। किनभने जनयुद्धको थालनी देखि विद्यार्थी संगठनलाई नै सबभन्दा बढी माओवादीको नाममा निशानामा लगाएका हामीले विर्सने कुरा थिएन। हामी पचास प्रतिशत केन्द्रीय समितिले आगामी संघर्षमा वलिदान गर्ने सपथ लिईसकेका थियौं। हामीले छुट्टीदा को – कसलाई आगामी कोटा जिम्मामा आउँछ, तयार हुने भन्दै विदा भयौं। क्रान्तिको मोर्चामा जाँदै गरेको विदाई आफैमा भावनात्मक नै हुन्छ। त्यसमा पनि काठमाडौंको मोर्चा सम्हाल्नु युद्धकालमा सामान्य कुरा थिएन। विदा हुँदा हामी सबै भावुक बन्यौं। हेर्दा त्यती कठोर लाग्ने पुर्ण दाई पनि पग्लीनु भयो। हामी छुट्टिएको ६ महिना पछि नै उहाँलाई हामीबिचबाट वेपत्ता पारियो, गायव पारियो। जब हामी विदाई हुँदाको त्यो समय र स्थान मेरो अगाडी आएर उभिन्छ, म आफुलाई सम्हाल्न सक्दिन। आजभन्दा ४ बर्ष पहिले पोखरामा पुर्णदाईको सम्मानमा आयोजीत समारोहमा त्यस्तै भयो। मैले जब विगत सम्झिएँ र सम्झिएँ आदरणीय दाई पुर्णलाई, सम्हालिन सकिनँ। परिवारका सदस्यले पो सम्हाल्नु पर्ला जस्तो अवस्था आयो। पुर्ण दाई, तपाई लगायत सम्पुर्ण शहिद तथा वेपत्ता योद्धालाई हार्दिक सम्मान तथा सलाम अपर्ण गर्दछु।
१८ बर्षको यो अन्तरालमा नेपालमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भएका छन। राजतन्त्र इतिहासको विषय बन्यो। माओवादी नेतृत्वमा सरकार बने तर अहँ उहाँलाई आज पनि वेपत्ताको सुचीमा राखेर खोज्नु पर्ने अवस्था छ। राजतन्त्रलाई गणतन्त्रमा र युद्धलाई शान्तिमा बदल्ने बेला जे सम्झौता भए। सम्झौताले वेपत्ता योद्धाहरुको अवस्था थाहा पाउन आयोग बनाईयो, त्यो अझैं काममा छ। आजका दिनसम्म पनि आयोगको म्याद थप्दै गएको अवस्था छ तर यर्थाथ सार्वजनिक हुन सकेको छैन। राजनैतिक परिवर्तन पछि दुई दशकसम्म पनि वेपत्ताको अवस्था थाहा नहुनु कम पीडादायी कुरा होइन। पुर्ण दाईको आमा लगायत सम्पुर्ण आमा बा र आफन्तजन, वेपत्ता योद्धाका जीवनसाथीले छातिमा फोटो टाँसेर कति संघर्ष गरे, ”कि सास, कि लास“ चाहियो भनेर कति शक्तिकेन्द्रका्े ढोका चाहरे अहँ केहि पत्तो लागेन। पुर्ण पौडेलको बहिनी तेजकुमारी पौडेल विद्यार्थी आन्दोलन र व्यवस्थापिका संसदमा रहेर वेपत्ता खोजी अभियानमा निरन्तर लाग्नु भयो। क. दण्डपाणी न्यौपानेका श्रीमती शान्ता न्यौपाने व्यवस्थापिका संसदमा सदस्य रहेर वेपत्ताको खोजी गरिएर भनेर आवाज उठाउनु भयो। उहाँका छोरा गोपाल न्यौपानेले विद्यार्थी संगठनमा शहीद तथा वेपत्ता योद्धाका सन्ततीहरुको विभागीय नेतृत्व गरि वेपत्ता योद्धाको सार्वजनिकीरणलाई आन्दोलनको विषय बनाईराख्नु भयो। क.ज्ञानेन्द्र त्रिपाठीको श्रीमती सर्मिला त्रिपाठी र विपिन भण्डारीको बुवा अधिवक्ता एकराज भण्डारी वेपत्ता परिवार समाजको क्रमशः अध्यक्ष भएर संघर्षको नेतृत्व गर्नुभयो। भण्डारीले अन्तरिम व्यवस्थापिकाको सदस्य भएर सदनमा पनि संघर्षको नेतृत्व गर्नुभयो। सर्मिला त्रिपाठी अहिले सेती महाकाली प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ। अब त आस मरिसक्यो भनिरहन्छन वेपत्ता योद्धाका आमाबा तथा आफन्तहरु।
देशमा नयाँ संविधान निमार्ण भयो। वामपंथी कम्युनिष्ट पार्टीलाई दुईतिहाई जनमत प्राप्त भयो। तीन तहका सरकार कम्युनिष्ट पार्टीका छन। शान्ति, विकास र सामाजिक न्याय सहितको समृद्धि कम्युनिष्ट पार्टी र सरकारको एजेन्डा हुन। पार्टी, सरकार र नेतृत्व आज जुन स्थानमा छ, त्यसको मुख्य देन भनेकै जनयुद्ध र जनआन्दोलनका शहिद र वेपत्ता योद्धाहरुको हो र घाईते योद्धाहरुको हो भन्नेमा दुईमत छैन। हामीले विगतमा शहिद तथा वेपत्ता योद्धाहरुको योगदान र वलिदानलाई समाजमा स्थापित गर्न थुप्रै कामहरु गर्दै आएका छौं। शहिद र वेपत्ताका नाममा पुस्तकालय निमार्ण, विभिन्न अतिरिक्त क्रियाकलाप, शहिद र वेपत्ता योद्धाहरुको संग्रह अजम्बरी हस्ताक्षरको प्रकाशन लगायतका काममार्फत नयाँ पुस्तामा समाज परिवर्तनको बाटोमा वलिदान र समपर्णको औचित्यलाई सम्प्रेशन गर्दै आईरहेका छौं। परिर्वर्तित सन्दर्भमा एकिकृत भएको पार्टी र यसका भातृ संस्थाहरुले शहिद र वेपत्ताहरुको सम्मान र सम्झनामा समय खर्च गर्न कन्जुस्याई नगरुन। वेपत्ता योद्धाहरुको अवस्था जान्नको लागि बनेको आयोगको काममा तदारुकताको लागि खबरदारी गर्ने आफ्नो कार्यसुचीलाई नविर्सीदिउन। मानव जातिको संघर्षमा सपना हराउनु वा सपनाको मृत्यु हुनु ज्यादै दर्दनाक कुरा हो। शहिद र वेपत्ता योद्धाहरुले देखेका सपना शोषण, विभेदरहित समाजको निमार्ण हो। शैक्षिक विभेदको अन्त्य र जनवादी शिक्षा प्रणालीको स्थापना हो। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारलाई मानिसको मौलिक अधिकार मानेको छ। देशलाई समाजवादउन्मुख राज्य भनेको छ। यो त केवल ढोका खोलेको मात्र हो। संघर्षशिल यात्रा र गन्तव्यको लागि अझैं सपनाहरुको रक्षा गरिनुपर्दछ। साविक अनेरास्ववियु र साविक अखिल(क्रान्तिकारी)बाट एकीकृत भई बनेको अनेरास्ववियूका नेता – कार्यकर्ता साथीहरुलाई निवेदन गर्दछु।
२०७७ बैसाख १३ गते
रुम क्वारेन्टाइन, तिनकुने, काठमाडौं ।
 नेता रमेश मल्ल को ब्लग बाट

तपाईंको प्रतिकृयाहरू